Nepal Purbadhar

पर्यटन प्रवर्द्धनका लागि दोस्रो लाङटाङ ट्रेल रन शुरू- (फोटो फिचर)


रसुवा । रसुवा र नुवाकोटका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको लाङटाङ ट्रेल रन शुरू भएको छ। रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताले विशेषगरी क्यान्जिन भ्यालीसहित लाङटाङ क्षेत्रलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

लाङटाङ क्षेत्रको प्रसिद्ध क्यान्जिन गुम्बाबाट शुरू भएको ट्रेल रन स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दूरीमा सञ्चालन भइरहेको छ। समुद्री सतहबाट करिब ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बाबाट शुरू भएको दौडमा स्वदेशी तथा विदेशी गरी १०६ जना धावक सहभागी छन्। सहभागीमध्ये १८ जना महिला र ८८ जना पुरुष रहेका छन्।

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्यका रूपमा परिचित लाङटाङ क्षेत्र हिमाल, हिमनदी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ। क्यान्जिन भ्यालीबाट शुरू गरिएको यो प्रतियोगिताले लाङटाङलाई पदयात्रा मात्र नभई ट्रेल रनिङ तथा म्याराथनका लागि पनि उत्कृष्ट गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ।

संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश तथा नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित प्रतियोगितामा महिला र पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, योजना तथा आर्थिक मामिला मन्त्री प्रभात तामाङ, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको थियो। उद्घाटनपछि सहभागी धावकलाई दौडमा सहभागी गराइएको थियो।

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेल रनको दोस्रो संस्करण आयोजना गरिएको बताए। उनका अनुसार प्रतियोगिताले लाङटाङ क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउनुका साथै साहसिक खेल पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

तस्बिर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी


Read Previous

२ लाख बढी सहभागी भएको हुवावे आईसीटी प्रतियोगितामा १८ टोलीले जिते पुरस्कार

Read Next

सडक सञ्जालमा जोडियो अपिहिमाल, पालिका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar