
काठमाडौं । पश्चिम नेपालका ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ।
आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को सञ्चालक समितिबाट लगानी संरचना स्वीकृत भएपछि कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो।
करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गरिनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कम्पनीका संस्थापक साझेदारलाई सम्बोधन गर्दै निजी क्षेत्रको सहभागिताले ऊर्जा उत्पादनपछि प्रसारण पूर्वाधार विकासमा नयाँ अभ्यास सुरु भएको बताएका छन्। उनले प्रसारण लाइनलाई ऊर्जा क्षेत्रको ‘लाइफ लाइन’ भन्दै यो मोडेलले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरे।
मन्त्री श्रेष्ठले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने बताए। उनले ऊर्जा आपूर्तिमा सुधार आएमा अर्थतन्त्र तथा सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले जग्गा प्राप्ति, राइट अफ वे तथा वन क्षेत्र स्वीकृतिपछि निर्माण कार्य तीव्र रूपमा अघि बढाइने जानकारी दिए।

आयोजनाका साझेदार समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले यसलाई ऊर्जा क्षेत्रको ‘गेम चेन्जर’ आयोजना भन्दै निजी क्षेत्र लगानीका लागि उत्साहित रहेको बताए।
नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आयोजना रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।
आयोजनामा सरकारी पक्षको ५१ प्रतिशत स्वामित्व रहनेछ। जसअनुसार आरपीजीसीएलको २६ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनीको १२.५ प्रतिशत र चैनपुर सेती हाइड्रोपावर कम्पनीको १२.५ प्रतिशत लगानी रहनेछ।
निजी क्षेत्रतर्फ समृद्धि इनर्जीको २५.१ प्रतिशत, ङादी ग्रुप पावरको ७ प्रतिशत, स्युरी ङादी पावरको ६.९ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत सेयर छुट्याइएको छ।

बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको बनलेक हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित दोधोधरा सबस्टेसनसम्म करिब १४५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।
आयोजनाअन्तर्गत चैनपुरमा १६० एमभीए र बनलेकमा ३१५ एमभीए क्षमताका सबस्टेसन निर्माण गरिने छन्।
आयोजनाको निर्माण अवधि पाँच वर्ष तोकिएको छ। जग्गा प्राप्ति तथा प्रारम्भिक सर्वेक्षणको काम सम्पन्न भइसकेको छ।
यस प्रसारण लाइनमार्फत पश्चिम सेती (७५० मेगावाट), सेती नदी–६ (४५० मेगावाट), अपर सेती (१७० मेगावाट) लगायतका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ।
सरकारले यो आयोजनाबाट करिब २ हजार ५०० मेगावाटसम्म विद्युत् निकासी क्षमता विकास हुने अपेक्षा गरेको छ। यसले ऊर्जा सुरक्षा, सीमापार विद्युत् व्यापार र दीर्घकालीन ऊर्जा विकास रणनीतिलाई सुदृढ बनाउने विश्वास गरिएको छ।

