
काठमाडौं। नेपाल विद्युतीय व्यवसायी महासंघले देशकै सबैभन्दा ठूलो विद्युतीय तथा ऊर्जा प्रविधि प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण आयोजना गर्ने भएको छ। ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित प्रदर्शनी जेठ २२ देखि २५ गते (जुन ५–८, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।
महासंघका अनुसार सन् १९९६ देखि नियमित रूपमा आयोजना हुँदै आएको प्रदर्शनीले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि, औद्योगिक विकास तथा आधुनिक प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तीन दशकभन्दा बढी समयदेखि आयोजना हुँदै आएको यस प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यवसायिक अवसर आदान–प्रदानको साझा मञ्चका रूपमा पहिचान बनाएको महासंघले जनाएको छ।
नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको अवस्थामा सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको महासंघको भनाइ छ। विद्युत् उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणाली विस्तार, विद्युतीय सवारीसाधनको प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकता दिइएको वर्तमान अवस्थामा प्रदर्शनीले ऊर्जा तथा विद्युतीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महासंघले हालै सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै विद्युत् उत्पादन वृद्धि, प्रसारण तथा वितरण पूर्वाधार विस्तार, औद्योगिक क्षेत्रमा विद्युत् उपयोग बढाउने तथा ऊर्जा आत्मनिर्भरताका लक्ष्यलाई सहयोग पुर्याउन प्रदर्शनी प्रभावकारी मञ्च बन्ने विश्वास व्यक्त गरेको छ।
प्रदर्शनीको औपचारिक उद्घाटन जेठ २२ गते बिहान १० बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम तय गरिएको छ। उद्घाटन समारोहमा सरकारी उच्च अधिकारी, ऊर्जा तथा पूर्वाधार क्षेत्रका नीति निर्माता, उद्योगी–व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको सहभागिता रहनेछ। ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका अग्रणी ब्रान्डहरूले आफ्ना नवीनतम उत्पादन, सेवा तथा अत्याधुनिक प्रविधि प्रदर्शन गर्नेछन्।
प्रदर्शनीमा ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रिक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, स्टेन्डली, ओरियन्ट इलेक्ट्रिक, चिन्ट, एमजी गोल्ड, सी एण्ड एस इलेक्ट्रिक, प्राइम वायर्स, अर्किड इलेक्ट्रिकल्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने महासंघले जनाएको छ।
प्रदर्शनीमा विद्युतीय उपकरण तथा सामग्री, ट्रान्समिसन तथा वितरण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, केबल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन, एलईडी, विद्युतीय सुरक्षा प्रणाली, सौर्य ऊर्जा तथा नवीकरणीय ऊर्जा प्रविधि, ई–मोबिलिटी तथा चार्जिङ पूर्वाधार, सूचना प्रविधि, परीक्षण तथा मापन उपकरण लगायतका सामग्री प्रदर्शन गरिनेछ।
महासंघका अनुसार प्रदर्शनीको उद्देश्य नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको विकासलाई टेवा पुर्याउनु, स्वदेशी तथा विदेशी उत्पादक र उपभोक्ताबीच व्यवसायिक सम्बन्ध विस्तार गर्नु तथा नवीनतम प्रविधि र समाधानको आदान–प्रदानलाई प्रोत्साहन गर्नु हो। साथै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता तथा दिगो विकासका अवधारणालाई प्रवर्द्धन गर्दै युवाहरू, प्राविधिक जनशक्ति तथा उद्यमीहरूलाई नयाँ अवसरसँग जोड्ने लक्ष्य पनि राखिएको छ।
प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट (बीटुबी मिटिङ), उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्र सञ्चालन गरिनेछन्। उद्योगी–व्यवसायी, इन्जिनियर, प्राविधिक, आर्किटेक्ट, विद्यार्थी तथा अनुसन्धानकर्ताले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय अनुभवबारे जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्।
यस वर्षको प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ भने पावर बाई स्पोन्सर ह्याभेल्स रहेको छ। प्लाटिनम स्पोन्सर जनता केईआई, डायमन्ड स्पोन्सर लेजर इन्डिया र ग्रेटह्वाइट इलेक्ट्रिकल्स तथा गोल्ड स्पोन्सर ब्रिलियन्ट एलईडी रहेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाको सहयोग रहेको प्रदर्शनीमा स्वदेश तथा विदेशबाट करिब २५ हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ। महासंघले आफ्नै खर्च र व्यवस्थापनमा देशभरका जिल्ला तथा नगरस्तरीय संघबाट करिब ५ हजारभन्दा बढी विद्युतीय व्यवसायीलाई काठमाडौं ल्याउने व्यवस्था समेत गरेको जनाएको छ।
प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ। आगन्तुकहरूले क्यूआर कोड वा उपलब्ध डिजिटल लिंकमार्फत पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। विद्यार्थी, अनुसन्धानकर्ता, प्राविधिक जनशक्ति तथा सर्वसाधारणले आधुनिक विद्युतीय तथा ऊर्जा प्रविधिबारे प्रत्यक्ष जानकारी हासिल गर्न सक्ने आयोजकको विश्वास छ।
