
सांकेतिक तस्बीर।
झापा । झापाको शिवसताक्षी नगरपालिका-४ फुलचोकस्थित झापा इनर्जी प्लान्टमा आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार दिउँसो करिब २:१० बजे प्लान्टमा आगलागी भएको हो। आगो लाग्दा प्लान्टभित्र रहेका विभिन्न मेसिनरी उपकरण तथा सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार प्लान्ट शिवसताक्षी नगरपालिका-९ दुधेका ५० वर्षीय लालप्रसाद साँवाको स्वामित्वमा रहेको थियो।
आगलागी नियन्त्रणका लागि प्रहरी टोली, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दमकल तथा स्थानीय बासिन्दा परिचालन गरिएको थियो। संयुक्त प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय शिवगञ्जबाट करिब पाँच किलोमिटर पश्चिम-दक्षिण क्षेत्रमा पर्छ।
प्रहरीका अनुसार आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
