
भटौली खोलामाथि निर्माणाधीन पक्की पुल ।
मन्थली (रामेछाप)। रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ।
एउटा मात्र स्पान रहेको उक्त पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यले तीव्रता पाएको हो।
बागमती प्रदेश सरकारको ३ करोड ३३ लाख ६५ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त पुल निर्माण व्यवसायी दीपक थापाले जानकारी दिए।
तीन वर्षअघि शुरू गरिएको पुलको प्रारम्भिक डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माण कार्यमा ढिलाइ भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद पुनले बताए। उनका अनुसार पुल सम्पन्न भएपछि माडी क्षेत्रसहित आसपासका क्षेत्रमा उत्पादन हुने सागसब्जी तथा अन्य कृषि उपज जिल्ला सदरमुकाम हुँदै राजधानी काठमाडौंसम्म पुर्याउन सहज हुनेछ।
पुल निर्माण भएपछि स्थानीय आवागमन सहज हुनुका साथै कृषि उपजको बजार पहुँच पनि विस्तार हुने खाँडादेवी गाउँपालिका–४ का स्थानीय खेमबहादुर खत्रीले बताए।
