Nepal Purbadhar

बाढीबाट तीन जिल्लाका करिब डेढ लाख नागरिक प्रभावित,होल्डिङ सेन्टरमा झाडापखाला प्रकोप बढ्दै

Shapubesi, Rasuwa


काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ।

शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

बागमती प्रदेश सरकार तथा मन्त्रालयका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको प्रारम्भिक अनुमान गरिएको उनले बताए।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये २५ जनामा झाडापखाला देखिएको सचिव देवकोटाले समितिलाई जानकारी गराए। यद्यपि, झाडापखालाबाहेक अन्य गम्भीर प्रकृतिका महामारी वा रोगको संक्रमण हालसम्म नदेखिएको उनले स्पष्ट पारे।

जलवायु अनुकूल संरचनाको गुरुयोजना बन्दै

बाढीबाट स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पाठ सिकिएको भन्दै सचिव देवकोटाले आगामी दिनमा निर्माण हुने स्वास्थ्य संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए।

भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने उनको भनाइ छ।

बैठकमा उनले स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने संरचना कुन भौगोलिक अवस्थामा बन्ने हो भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। अत्यधिक गर्मी हुने स्थान र चिसो हुने स्थानमा निर्माण गरिने संरचनाको डिजाइन तथा व्यवस्थापन फरक हुनुपर्ने उनको भनाइ थियो।

नयाँ संरचना निर्माण गर्दा स्वास्थ्य समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्ने उनले बताए।

मन्त्रालयले पुनर्स्थापना तथा पुनर्निर्माणका लागि जलवायु अनुकूल संरचनासहितको गुरुयोजना निर्माण गरिरहेको जनाएको छ। उक्त गुरुयोजना पूरा भएपछि संसदीय समितिमा पेस गर्ने प्रतिबद्धता पनि सचिव देवकोटाले जनाएका छन्।


Read Previous

त्रिशूलीमा बग्यो फुर्केखोला पुल, १६ दिनदेखि राजमार्गसँग धादिङबेँसीको सम्पर्कविच्छेद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar