Nepal Purbadhar

नारायणीमा बहाव बढेपछि पश्चिम चितवन जोखिममा, नदी नियन्त्रणका लागि प्राविधिक टोली परिचालन


काठमाडौं। रसुवातर्फबाट आएको बाढीका कारण त्रिशूली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि पश्चिम चितवनका बस्ती जोखिममा परेका छन्। भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्ती लगायतका क्षेत्रमा नदीले धार परिवर्तन गर्न सक्ने अवस्था देखिएपछि जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक व्यवस्थापनका लागि संयन्त्र परिचालन गरेको जनाएको छ।

मन्त्रालयका अनुसार हालको अवस्था विगतको जोखिम नक्सांकनभन्दा फरक देखिएको छ। उक्त क्षेत्रलाई विगतमा तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिए पनि पछिल्ला वर्षमा नदीको बहाव प्रवृत्ति र थेग्रान तथा गेग्रानको व्यवहारमा परिवर्तन आएको पाइएको मन्त्रालयले जनाएको छ।

यसै आधारमा नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरावलोकन गर्ने मन्त्रालयको तयारी छ।

सूचना प्राप्त भएलगत्तै मन्त्रालयअन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गर्दै परिचालन भएको मन्त्रालयले जनाएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञसहितको प्राविधिक टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ।

तत्कालका लागि तटबन्ध निर्माण गर्न आवश्यक ठूला ढुङ्गा जुटाउने काम भइरहेको छ। ढुङ्गा तथा अन्य निर्माण सामग्री उपलब्ध गराउन गैंडाकोट नगरपालिकासँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। नदीको दुवै तटका स्थानीय तह र प्रदेश सरकारको संयुक्त प्रयासबाट मात्रै दीर्घकालीन र दिगो समाधान सम्भव हुने मन्त्रालयको भनाइ छ।

दीर्घकालीन समाधानका लागि नारायणी नदीको विस्तृत नदी नियन्त्रण तथा नदी व्यवस्थापन योजना तयार गर्ने कामसमेत अघि बढाइएको छ।

यसैगरी बाढीको उद्गम क्षेत्र रसुवाको माथिल्लो भेगमा बाढीले जलमापन केन्द्रहरू बगाएकाले तत्काल तीन ओटा सीसीटीभी जडान गरी जलसतहको निरन्तर अनुगमन गरिने भएको छ। जल तथा मौसम विज्ञान विभागमार्फत स्वचालित जलमापन केन्द्रहरूको पुनःस्थापना पनि प्राथमिकताका साथ अघि बढाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नदी किनारका बासिन्दालाई अत्यन्त सतर्क रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।


Read Previous

पहिचान नभएका शव देवघाटमा व्यवस्थापन गरिने

Read Next

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar