Nepal Purbadhar

देवीघाटमा सेनाले पाँच दिनमै बनायो ५७.९ मिटर लामो एक्रोब्रिज


नुवाकोट। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि टुटेको सडक सम्पर्क नेपाली सेनाले पाँच दिनमै पुनःस्थापित गरेको छ।

बाढीले पुल बगाएपछि विदुर र बेलकोटगढी नगरपालिकाबीचको आवागमन प्रभावित हुनुका साथै नुवाकोटलाई धादिङ र रसुवागढीसँग जोड्ने महत्वपूर्ण सडक सम्पर्कसमेत प्रभावित भएको थियो। त्यसपछि सरकारले देवीघाटमा तत्काल एक्रोब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको थियो।

नेपाली सेनाले दिनरात काम गरेर ५७.९ मिटर लामो एक्रोब्रिज तयार पारेको हो। बिहीबार बेलुकादेखि पुलमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याइएको छ।

बेलकोटगढी नगरपालिका-८ जिलिङका सौगात पुडासैनीले पुल निर्माणपछि आवागमन सहज भएको बताए। उनका अनुसार यसअघि देवीघाटमा पुल नहुँदा घुमाउरो बाटो प्रयोग गरेर घर पुग्न दुई-तीन घण्टा लाग्ने गरेकोमा अहिले करिब २५ मिनेटमै पुग्न सकिने भएको छ।

बेलकोटगढी नगरपालिका-८ ढुङ्गानेगाउँका मनोज तामाङले पनि पुल बनेपछि घर आवतजावतमा सहज भएको बताए। बाढीले पुल बगाउँदा सर्वस्व गुमाएजस्तो महसुस भएको भए पनि पुल निर्माणपछि आशा पलाएको उनले बताए।

नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार ५५ जना प्राविधिकले दिनरात खटिएर ७२ घण्टे कार्यअवधिमै पुल तयार पारेका हुन्। देवीघाटको पुल विदुर र गल्छीलाई जोड्ने महत्वपूर्ण संरचना भएकाले निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए।

देवीघाटमा भदौ २० गतेदेखि पुल निर्माण सुरू गरिएको थियो। पाँच दिनमा निर्माण सम्पन्न भए पनि वास्तविक कार्यअवधि ७२ घण्टाभन्दा बढी नरहेको सेनाले जनाएको छ।

नेपाली सेनाले प्राविधिक परीक्षण गरेपछि पुल सञ्चालनमा ल्याएको हो। विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले छोटो समयमा पुल निर्माण भएपछि बाढीका कारण टुटेको सडक सम्पर्क पुनःस्थापित भएको बताए। उनका अनुसार पुल निर्माणमा नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गरेको थियो।

नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले एक्रोब्रिज निर्माण गरेको हो। सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा पुल देवीघाट ल्याएर तादी खोलामा फिटिङ गरी सञ्चालनमा ल्याइएको १४ नम्बर बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काले बताए।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार यसअघि देवीघाटको ५५ मिटर लामो बक्स गर्डर पुल बाढीले भत्काएको थियो। त्यस स्थानमा एक्रोब्रिज राख्न सहज भएको उनले बताए। रातोमाटे क्षेत्रमा बाँकी रहेको सामान्य कटिङ तथा मर्मतसम्भारको काम पनि शुक्रबारसम्म सम्पन्न गरी सडक सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए।

नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार अमेरिकन प्रविधिमा आधारित एक्रोब्रिज गुणस्तरीय र उच्च भारवहन क्षमताको हुन्छ। पुलको भारवहन क्षमता ६० टन रहेको छ।


Read Previous

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

Read Next

प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी-व्यवसायीसँग छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar