
काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
विश्वविद्यालयको आज बसेको कार्यकारी परिषद्को बैठकले बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. हरिबहादुर खड्काद्वारा जारी सूचनाअनुसार विश्वविद्यालय र मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको पारिश्रमिकबाट रकम कट्टा गरी सहयोग गरिनेछ।
निर्णयअनुसार उपकुलपतिले एक महिनाको तलब बराबरको रकम सहयोग गर्नेछन्। प्राध्यापक, प्रशासक, सहप्राध्यापक तथा सहप्रशासक वा सोसरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलअनुसार १० दिनको रकम कट्टा गरिनेछ।
त्यस्तै, उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक तथा सहायक प्रशासक वा सोसरहबाट ७ दिनको, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक तथा सहायक वा सोसरहबाट ५ दिनको र श्रेणीविहीन कर्मचारीबाट २ दिनको रकम सहयोगस्वरूप कट्टा गरिनेछ।
विश्वविद्यालयले १० भदौमा रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट सिर्जित विपत्तिमा संस्थागत सहयोगले राहत, उद्धार तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
