Nepal Purbadhar

रसुवा-भोटेकोशी बाढी सहयोगको विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल


काठमाडौं। रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्राप्त सहयोग, वैदेशिक सहायता, उद्धार तथा राहतसम्बन्धी आधिकारिक विवरण र नेपाल सरकारका निर्णयहरू एकै ठाउँबाट पारदर्शी रूपमा सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा-भोटेकोशी बाढी अपडेट’ पोर्टल सञ्चालनमा ल्याएको छ।

नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध पोर्टल ‘https://mofnepal.github.io/rasuwa-flood-update/’ मार्फत बाढीपछि भएका राहत, उद्धार तथा सहयोगसम्बन्धी विवरण हेर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०८३ भदौ २४ गतेसम्म अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएका ३८९ ओटा सहयोगबाट २ अर्ब १५ करोड २५ लाख ४२ हजार ३०९ रुपैयाँ प्राप्त भएको छ।

यसमा एनसीएचएल (NCHL) र फोनपे (Fonepay) मार्फत अनलाइन प्राप्त रकम तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगसमेत जोड्दा हालसम्म १२ अर्ब ३१ करोड ५९ लाख ४२ हजार ३५ रुपैयाँ सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ।

यस्तै, २०८३ भदौ २४ गते बिहान ९ बजेसम्मको कोषको स्थितिअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

विभिन्न स्रोतबाट प्राप्त तथ्यांक फरक-फरक मिति तथा समयसम्मका भएकाले एकीकृत रकमको अन्तिम मिलान अर्थ मन्त्रालयको कोष शाखाबाट हुन बाँकी रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

पोर्टलमा एनसीएचएल र फोनपेमार्फत प्राप्त अनलाइन सहयोग रकम, अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएको सहयोगको नामसहितको विवरण, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंकगत खाता स्थिति र अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगको विवरण राखिएको छ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीबाट प्रकाशित उद्धार तथा राहतसम्बन्धी विवरण, मन्त्रिपरिषद्का निर्णय, राहत व्यवस्था तथा राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिहरूको विवरणसमेत पोर्टलमा उपलब्ध गराइएको छ।

मन्त्रालयका अनुसार पोर्टलमा प्रकाशित प्रत्येक तथ्यांक सम्बन्धित निकायका आधिकारिक कागजातसँग भिडाएपछि मात्र सार्वजनिक गरिन्छ। नयाँ आधिकारिक विवरण प्राप्त भएपछि पोर्टल नियमित रूपमा अद्यावधिक गरिनेछ।

सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाहरूलाई सहयोग रकम आधिकारिक भुक्तानी पोर्टल ‘https://donate.gov.np’ मार्फत मात्र पठाउन मन्त्रालयले आग्रह गरेको छ। नगद वा जिन्सी सहयोग गर्न चाहनेले अर्थ मन्त्रालयको राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिसँग समन्वय गर्न सक्नेछन्।

उद्धारसम्बन्धी अनुरोध भने ‘https://rescue.opmcm.gov.np’ मार्फत गर्न सकिने मन्त्रालयले जनाएको छ।

पराजुली अर्थमन्त्रीका अवैतनिक ‘मानवीय मामिला’ सल्लाहकार नियुक्त

यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई ‘मानवीय मामिला’ (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गरेका छन्।

२०८३ भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारमा नियुक्त गरिएको हो।

रसुवा-भोटेकोशी बाढीपछि मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितसम्बन्धी काममा सहयोग पुर्‍याउने उद्देश्यले छोटो अवधिका लागि पराजुलीलाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

पराजुलीको संयुक्त राष्ट्रसंघ (यूएन) मा लामो अनुभव रहेको र विपद्पछिको मानवीय राहत तथा पुनर्स्थापनामा उनको अनुभव उपयोगी हुने मन्त्रालयको अपेक्षा छ।

विशेषगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी उनको विज्ञताले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

अर्थमन्त्री वाग्लेले पराजुलीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।


Read Previous

बाढीबाट तीन जिल्लाका करिब डेढ लाख नागरिक प्रभावित,होल्डिङ सेन्टरमा झाडापखाला प्रकोप बढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar