Nepal Purbadhar

त्रिशूलीमा बग्यो फुर्केखोला पुल, १६ दिनदेखि राजमार्गसँग धादिङबेँसीको सम्पर्कविच्छेद


धादिङ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले फुर्केखोला पुल बगाएपछि धादिङ सदरमुकाम धादिङबेँसीको पृथ्वी राजमार्गसँगको सडक सम्पर्क १६ दिनदेखि टुटेको छ।

मुख्य लाइफलाइन मानिएको पुल बाढीले बगाएपछि पृथ्वी राजमार्ग, मलेखु बजार तथा धादिङका अन्य बजारतर्फको आवतजावत प्रभावित भएको छ। वैकल्पिक मार्ग प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहे पनि स्थानीयलाई यात्रा गर्न कठिनाइ भएको छ।

पुल बगे पनि छेउमा रहेको सहिद गेट सुरक्षित रहेको छ। तर, त्रिशूली नदी आसपासका घरटहरा भने नदी कटानका कारण जोखिममा परेका छन्।

२०५६ सालमा निर्माण गरिएको फुर्केखोला पुल ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुल थियो। लामो दूरी पार गर्न सक्ने क्षमताको वैकल्पिक बेलीब्रिज तत्काल उपलब्ध नभएकाले नयाँ पुल नबन्दासम्म वैकल्पिक सडककै भर पर्नुपर्ने अवस्था रहेको छ।

साना तथा मालवाहक सवारीसाधनका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोग भइरहेका छन्। पृथ्वी राजमार्गबाट मासटार-केउरेनी-पिपलटार-परेवाटार हुँदै धादिङबेँसी पुग्ने मार्ग सञ्चालनमा छ। कतिपय स्थानमा सडक हिलो र कच्ची रहेकाले वैकल्पिक मार्गको यात्रा भने सहज छैन।

मालवाहक सवारीसाधनले मुग्लिन-आँबुखैरेनी-गोरखा-आरुघाट-सल्यानटार हुँदै धादिङबेँसी पुग्ने लामो मार्ग प्रयोग गरिरहेका छन्।

त्यस्तै, धादिङबेँसीबाट काठमाडौं आउजाउका लागि सुनौलाबजार-फोस्रेटार-कल्लेरीटार हुँदै गल्छी पुग्ने वैकल्पिक सडक पनि प्रयोग गर्न सकिने अवस्था रहेको छ।

फुर्केखोला पुल बगेसँगै धादिङबेँसी हुँदै जाने जिल्लाको उत्तरी क्षेत्रमा रहेका गाउँबस्तीका बासिन्दाको आवतजावतसमेत प्रभावित भएको छ। पुल पुनर्निर्माण वा स्थायी वैकल्पिक व्यवस्था नहुँदासम्म स्थानीयले थप समस्या भोग्नुपर्ने अवस्था देखिएको छ।

default
default
default
default
default

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


Read Previous

काठे पुलकै भरमा बेँसीसहर-चामे सडक

Read Next

बाढीबाट तीन जिल्लाका करिब डेढ लाख नागरिक प्रभावित,होल्डिङ सेन्टरमा झाडापखाला प्रकोप बढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar