
काठमाडौं। रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै दुवै संस्थाले आपत्कालीन राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र दीर्घकालीन स्वास्थ्य तयारीसम्मका कार्यक्रम सञ्चालन गर्ने भएका हुन्।
राहत अभियानअन्तर्गत भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा तयारी खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण सुरु गरिएको छ। फाउन्डेसन र बैंकका कर्मचारी स्थानीयस्तरमै परिचालित भएर राहत वितरणमा खटिने जनाइएको छ।
स्थानीय प्रशासनसँगको समन्वयमा रसुवा र नुवाकोटमा एक–एक ओटा व्यवस्थित राहत शिविर स्थापना गरी दैनिक भोजनको व्यवस्था गरिनेछ। त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्राथमिक स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
बाढीका कारण घर पूर्ण रूपमा भत्किएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० ओटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ। सरकारसँगको सहकार्यमा निर्माण हुने ती आवास भूकम्पपीडितका लागि प्रयोग गरिएको प्रमाणित प्रविधिमा आधारित हुने संस्थाद्वयले जनाएको छ।
यसका साथै स्थायी आवास निर्माण तथा आवश्यक सामुदायिक पूर्वाधार विकासमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
दीर्घकालीन योजनाअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा ‘संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ स्थापना गरिने भएको छ। केन्द्रले विपद्पछि फैलिन सक्ने रोगको निगरानी, रोकथाम, जनचेतना तथा स्वास्थ्यसम्बन्धी जोखिम व्यवस्थापनमा काम गर्नेछ।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले प्रभावित परिवारलाई तत्काल खाना, आवास, स्वास्थ्य सेवा र सम्मान सुनिश्चित गर्नु प्राथमिकता रहेको बताएका छन्।
उनले आपत्कालीन राहतमा मात्रै आफ्नो जिम्मेवारी सीमित नभएको बताउँदै उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र जनस्वास्थ्य तयारीसम्मको काममा प्रतिबद्ध रहने बताएका छन्।
राहत तथा पुनर्स्थापना कार्यक्रमलाई पारदर्शी र व्यवस्थित बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकसँग समन्वय गरिने संस्थाद्वयले जनाएको छ।
