Nepal Purbadhar

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह


सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ र ५ को सिमानाबाट बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

शुक्रबार बिहान करिब ७ बजे खसेको पहिरोले हुङ्गा खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले बताए। पहिरो खस्ने क्रम नरोकिएकाले खोलामा जम्मा भएको पानीको मात्रा बढिरहेको उनले जानकारी दिए।

पहिरोका कारण खोलामा करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो अस्थायी बाँधजस्तो अवस्था बनेको प्रशासनले जनाएको छ। पहिरो नरोकिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

हुङ्गा खोला दुधकोशी नदीमा मिसिने भएकाले पहिरोका कारण बनेको अस्थायी तालको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा असर पर्नसक्ने प्रशासनको अनुमान छ।

सोलुखुम्बुसँगै दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने ओखलढुङ्गा र खोटाङका बासिन्दालाई समेत सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी थापामगरले बताए।

महाकुलुङ गाउँपालिकाले खोला थुनिएको जानकारी पाएपछि घटनास्थलतर्फ स्काभेटर पठाएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले बताए। घटनास्थलको अवस्था बुझेर आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पहल भइरहेको उनले जानकारी दिए।

हुङ्गा खोला तथा आसपासका क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन छन्। स्थानीय प्रशासनले खोला तथा नदी आसपासका बासिन्दालाई सचेत रहन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।


Read Previous

कुशे औंसीमा गोकर्णमा श्रद्धालुको भीड- तस्बीरहरूमा हेर्नुहोस्

Read Next

देवीघाटमा सेनाले पाँच दिनमै बनायो ५७.९ मिटर लामो एक्रोब्रिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar