Nepal Purbadhar

काठे पुलकै भरमा बेँसीसहर-चामे सडक


लमजुङ। लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकमा अहिले तीन स्थानमा काठे पुलकै भरमा सवारीसाधन सञ्चालन भइरहेका छन्। वर्षायाममा खोलामा पानीको बहाव बढ्दा यस्ता अस्थायी पुलबाट आवतजावत जोखिमपूर्ण हुने गरेको छ।

डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एउटा काठे पुल रहेको छ। अस्थायी प्रकृतिका पुलबाट सवारीसाधन सञ्चालन गर्दा समस्या हुने गरेको छ।

समस्या समाधानका लागि यस सडकखण्डमा १५ ओटा पक्की पुल निर्माण गर्न माग गरिएको थियो। तर पर्याप्त बजेट अभावमा पक्की पुल निर्माण हुन सकेको छैन। पुल निर्माणका लागि आवश्यक डिजाइन तयार भइसके पनि बजेट पर्याप्त नआउँदा काम अघि बढाउन समस्या भएको आयोजनाले जनाएको छ। चालु आर्थिक वर्षमा पुल निर्माणका लागि बजेट नै नआएको आयोजनाले जनाएको छ।

सडकखण्डका कतिपय स्थानमा ह्युमपाइप राखेर समेत सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ।

मनाङलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले बेँसीसहर-चामे सडकको निर्माण २०५१ सालदेखि सुरू भएको थियो। सशस्त्र द्वन्द्वका कारण निर्माण प्रभावित भएपछि नेपाली सेना २०५७ सालदेखि सडक निर्माणमा सहभागी भएको थियो। सेनाले ६५ किलोमिटर सडक निर्माण गरी २०६९ सालमा सडक विभागलाई हस्तान्तरण गरेको थियो। सडकको ३५ किलोमिटर क्षेत्र लमजुङ र ३० किलोमिटर क्षेत्र मनाङमा पर्छ।

आयोजनाका अनुसार कतिपय स्थानमा बेलिब्रिज तथा पक्की पुल निर्माण भए पनि बाढीपहिरोबाट क्षति पुगेपछि अस्थायी रूपमा काठे पुल राख्नुपर्ने अवस्था आएको हो।

२०८० असारमा चामे गाउँपालिका-१ तिमाङ खोलाको काठे पुल र चामे-२ स्थित स्यार्कु खोलाको काठे पुल जीर्ण भएर भाँचिएपछि बेँसीसहर-चामे सडक दुई दिन अवरुद्ध भएको थियो। दुवै पुलका पुराना काठ हटाएर नयाँ काठ राखेर सञ्चालनमा ल्याइएको थियो।

यसअघि २०७८ मा पनि तिमाङ छहरामा काठे पुल जीर्ण भएपछि त्यसलाई विस्थापन गर्न स्ल्याब कल्भर्ट निर्माणका लागि १५ दिनसम्म सडक बन्द गर्नुपरेको थियो।


Read Previous

प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी-व्यवसायीसँग छलफल

Read Next

त्रिशूलीमा बग्यो फुर्केखोला पुल, १६ दिनदेखि राजमार्गसँग धादिङबेँसीको सम्पर्कविच्छेद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar