
काठमाडौं। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ।
व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको विभागले जनाएको छ।
खानी तथा भूगर्भ विभागका अनुसार पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको परियोजनाअन्तर्गत दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजले मा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सम्पन्न भइसकेको छ।
व्यावसायिक उत्पादन सुरु गर्न आवश्यक अर्को चरणको सम्झौताका लागि सरकारसँग समन्वय भइरहेको विभागले जनाएको छ।
चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे तथा जियोकेमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिए।
नमूना परीक्षणबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको सम्भावना देखिएको जनाइएको छ।
परियोजना सफल रूपमा अघि बढेमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको आयातमा हुने खर्च घट्ने तथा आयात प्रतिस्थापनसँगै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
