Nepal Purbadhar

पहिचान नभएका शव देवघाटमा व्यवस्थापन गरिने


काठमाडौं। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवलाई शनिबारदेखि जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म २३३ शव संकलन भएको जनाएको छ। तीमध्ये ८ शवको पहिचान भएको र बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको प्रशासनले जनाएको छ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव र शवका अवशेष सडेर-गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनले जनाएको छ। ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय रहेको सूचनामा उल्लेख छ।

यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका-९ स्थित देवघाटको खुला स्थानमा शवलाई जमिनमुनि व्यवस्थापन गरिनेछ।

प्रशासनले भविष्यमा शवको पहिचान खुलेमा डीएनए नमुना र संकेत नम्बरका आधारमा विवरण मिलान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।


Read Previous

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar