
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सो अवधिमा निर्जीवन बिमा शुल्कबाट रु ३२ अर्ब ५३ करोड सङ्कलन भएको छ ।
सर्वेक्षणअनुसार कुल बिमा शुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.१ प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड पुगेको छ ।
फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फ एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फ २१ लाख ६८ हजार ४५ बिमालेख सक्रिय रहेका छन् ।
चालु आर्थिक वर्षको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० दाबीअन्तर्गत रु २६ अर्ब ८४ करोड बराबरको भुक्तानी गरिएको छ । यस्तै निर्जीवन बिमातर्फ ९४ हजार २१५ दाबीबापत रु १७ अर्ब ३१ करोड भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ ।
बिमा क्षेत्रमा जीवन तथा लघु जीवन बिमातर्फ १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । साथै करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा संलग्न रहेका छन् । निर्जीवन बिमा क्षेत्रमा एक हजार २२४ सर्भेयर तथा १६ पुनर्बिमा अभिकर्ताले पनि रोजगारी प्राप्त गरेका छन् ।
यसैबीच, गत पुस मसान्तसम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु ६ खर्ब ४२ अर्ब ३५ करोड पुगेको छ । सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम रु ५ खर्ब ७८ अर्ब ६ करोड रहेको छ । कोषले विभिन्न क्षेत्रमा रु २ खर्ब २९ अर्ब ४९ करोड लगानी गरेको छ भने रु ३ खर्ब ८१ अर्ब ६१ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ ।
त्यस्तै नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व गत पुससम्म रु ३ खर्ब १९ अर्ब ५० करोड पुगेको छ । सो अवधिमा बचतकर्ताको सञ्चित रकम रु २ खर्ब ८२ अर्ब ३७ करोड रहेको छ । कोषले विभिन्न क्षेत्रमा रु १ खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ भने रु ९१ अर्ब ५६ करोड कर्जा तथा सापटी प्रदान गरेको छ ।
