Nepal Purbadhar

निर्माणाधीन माथिल्लो त्रिशुली–१ अन्तिम चरणमा, वेयरगेट सञ्चालनमा आयो


काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको पानी प्रवाह नियन्त्रण गर्ने वेयरगेट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले रसुवामा आयोजित कार्यक्रममा वेयरगेट उद्घाटन गरेका हुन् । वेयरगेट सञ्चालनमा आएसँगै आयोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै राजदूत पार्कले गणतन्त्र कोरियाले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि सहकार्य गर्दै आएको बताए । उनले नेपालमा कोरियाको लगानीमा तीनवटा जलविद्युत् आयोजना निर्माण भइरहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा दुई देशबीच सहकार्यको ठूलो सम्भावना रहेको धारणा राखे ।

उनका अनुसार माथिल्लो त्रिशुली–१ आयोजना नेपाल र कोरियाबीच ऊर्जा क्षेत्रमा भएको दीर्घकालीन साझेदारी र लगानीको महत्वपूर्ण उदाहरण बनेको छ ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका अधिकारी, कोरियाली दूतावासका प्रतिनिधि, आयोजनासँग सम्बन्धित निकायका पदाधिकारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

नेपालकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी रहेको यस आयोजनालाई सन् २०२७ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमार्फत लगानी गरिएको छ ।

नेपाल जल तथा ऊर्जा विकास कम्पनी प्रालिद्वारा निर्माण भइरहेको आयोजनाका प्रमुख प्रवर्द्धक कोरिया साउथ इस्ट पावर कम्पनी र कोरिया ओभरसिज इन्फ्रास्ट्रक्चर एण्ड अर्बन डेभलपमेन्ट कर्पोरेशन रहेका छन् ।

आयोजनामा अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी), एसियाली विकास बैंक (एडीबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) तथा कोरियाली एक्जिम बैंकलगायत अन्तरराष्ट्रिय वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।


Read Previous

जापानी सवारी उद्योगमा मध्यपूर्व द्वन्द्वको असर, टोयोटाको निर्यात ९१.७ प्रतिशतले घट्यो

Read Next

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्बभन्दा बढी सङ्कलन, निर्जीवन तर्फ ३२ अर्ब ५३ करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar