
आगामी विश्वकपमा सहभागि हुने इरानी फसटबल टिम।
इरान। इरान अमेरिका सम्बन्ध जटिल मोडमा रहेकै बेला हुन लागेको विश्वकप फुटबलमा सहभागि हुन लागेको इरानलाई अमेरिकी भिसा के हुने भन्ने बारे अन्योल रहेको देखिएको छ। इरानले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपका लागि आफ्नो राष्ट्रिय टोलीलाई बहुप्रवेशी (मल्टिपल इन्ट्री) भिसा उपलब्ध गराउने अपेक्षा गरेको समाचारहरूले जनाएका छन्।
इरान फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजका अनुसार फिफाले खेलाडी र टोलीलाई अमेरिका र मेक्सिकोबीच आवतजावत सहज बनाउन यस्तो व्यवस्था गर्ने अपेक्षा गरिएको बताएका छन्। उनले खेलाडीहरू अमेरिका प्रवेश गर्न र आवश्यकता अनुसार मेक्सिको फर्कन सक्ने व्यवस्था महत्वपूर्ण हुने बताएका हुन।
इरानको राष्ट्रिय टोली ‘टिम मेली’ले शुरूमा प्रतियोगिताका क्रममा एरिजोनाको टक्सनमा प्रशिक्षण गर्ने योजना बनाएको थियो। तर पछि उक्त योजना परिवर्तन गरी टोलीको प्रशिक्षण शिविर मेक्सिकोको तिजुआनामा सारिएको छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना गर्दैछन्।
अमेरिकी भिसासम्बन्धी जटिलताबाट बच्न र टोलीलाई सहज यात्रा सुनिश्चित गर्न यो निर्णय गरिएको बताइएको छ। अध्यक्ष ताजका अनुसार टोलीले इरान एयरमार्फत सीधा मेक्सिको यात्रा गर्ने योजना पनि बनाएको छ।
इरानले समूह ‘जी’ अन्तर्गतका सबै खेल अमेरिकामा खेल्नेछ। ताजका अनुसार टोली तयारीमा रहेको छ र अब मेक्सिकोमा बस्ने योजना निश्चित भएको छ।
विश्वकपमा इरानको सहभागिता पछिल्ला महिनामा राजनीतिक तनावका कारण अनिश्चित जस्तै बनेको थियो। फेब्रुअरी २८ पछि मध्यपूर्वमा उत्पन्न तनावका कारण सुरक्षा र यात्रा व्यवस्थाबारे विभिन्न आशंका उठेका थिए।
कार्यतालिकाअनुसार इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग खेल्नेछ। त्यसपछि बेल्जियमसँग पनि लस एन्जलसमा र इजिप्टसँग सियाटलमा खेल्नेछ।
यसैबीच, इरानी स्ट्राइकर सरदार अज्मुनको राष्ट्रिय टोलीमा स्थानबारे अनिश्चितता देखिएको छ। अध्यक्ष ताजका अनुसार उनको अवस्थाबारे स्पष्ट जानकारी छैन र प्रारम्भिक टोली सूचीबाट उनलाई हटाइएको छ।
अज्मुनले यसअघि बायर लेभरकुसेन र एएस रोमामा खेलिसकेका छन्। उनी हाल युएईमा क्लब फुटबल खेलिरहेका छन् र विगतमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको कारण विवादमा पनि आएका थिए।
हालै इरानका एक उपराष्ट्रपतिले अज्मुनलाई पुनः राष्ट्रिय टोलीमा समावेश गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा उनले आफू ‘इरानको सन्तान’ भएको उल्लेख गर्दै देशप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
