
फाईल तस्बीर।
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न नहुने भएको छ । पाँच वर्षअघि शुरू गरिएको सडक विस्तार तथा स्तरोन्नति कार्य पटक-पटक म्याद थपिँदा पनि अझै पूरा हुन सकेको छैन।
तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८.७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ। आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गरी आगामी असार १५ गतेसम्म पुर्याइएको थियो । तर हालको प्रगतिलाई हेर्दा तोकिएको समयभित्र काम सम्पन्न हुने सम्भावना कमजोर देखिएको छ।
आयोजनाका अनुसार पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा लगातारको वर्षाका कारण निर्माण कार्य प्रभावित भएको छ । मूल्यवृद्धिका कारण निर्माण कम्पनीले नियमित गतिमा काम अघि बढाउन नसकेको बताइएको छ।
मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ । उहाँका अनुसार पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७.२८ किलोमिटर सम्पन्न भइसकेको छ।
आयोजनाअन्तर्गत २०.५५ किलोमिटर चार लेन सडक तथा १८.१६ किलोमिटर चार लेनसहित सर्भिस लेन निर्माण गर्नुपर्ने छ । योजनाका अनुसार इन्धन अभावले निर्माण कार्यमा प्रत्यक्ष असर परेको हो।
निर्माण कम्पनीलाई दैनिक चार हजार लिटर डिजेल आवश्यक पर्छ, तर अहिले एक हजार ५०० लिटर मात्र उपलब्ध भइरहेको छ। निर्माण सामग्रीको मूल्य वृद्धि भएकाले पनि काम प्रभावित भएको छ । यसले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन बनाएको आयोजनाको भनाई छ।
योजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन निर्माण, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा डब्लु बिम रोड सेफ्टी ब्यारियर जडानको काम भइरहेको छ।
एशियाली विकास बैंकको लगानीमा सञ्चालित उक्त आयोजनाअन्तर्गत पश्चिम खण्डको निर्माण चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले रु ७ अर्ब ४० करोडमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ ।
उक्त खण्डको निर्माण सम्झौता २०७८ जेठ २ गते भएको थियो भने २०७८ भदौ १२ गतेदेखि निर्माण कार्य शुरू गरिएको थियो।
