Nepal Purbadhar

‘ऊर्जा क्षेत्र बचाउन बलियो नेतृत्व चाहिन्छ’ भन्दै बलराम खतिवडा चुनावी मैदानमा


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान)को वरिष्ठ उपाध्यक्षमा बलराम खतिवडाले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका महासचिव खतिवडाले वरिष्ठ उपाध्यक्षमा टिम सहित उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।

आगामी जेठ २९ गतेको साधारणसभाले इप्पानको नयाँ नेतृत्व चयन गर्दैछ । इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष हुने प्रावधान छ । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत:तीन वर्षे कार्यकालका लागि अध्यक्ष बन्दैछन् ।

अहिले विधानमा रहेको वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष हुने विषय विवादमा छ । धेरैले वरिष्ठ उपाध्यक्ष हटाएर सिधै अध्यक्षको चुनाव गर्नुपर्ने माग गरिरहेका छन् । त्यस्तै इप्पानको कार्यसमितिका आउन समेत कठिन प्रावधान राखिएको गुनासो छ । यी सबै विषयहरुलाई सम्बोधन गरेर अघि बढ्ने उनले बताए । ‘इप्पानमा प्रवेश खुकुलो बनाउछु । जति पनि गुनासाहरु छन् ।ती सबैलाई सम्बोधन गरेर अघि बढ्छु । इप्पानलाइ सबैको ऊर्जा प्रवर्धकहरुको साझा संस्था बनाउछु,’ उनले भने ।

वरिष्ठ उपाध्यक्षका लागि बलराम खतिवडा र उत्तम लामा ब्लोनबीच प्रतिस्पर्धा हुने देखिएको छ । लामा वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । उनले पुरै टीम सहित आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

खतिवडाले मिलेर जाने अवस्था हुँदा हुँदै लामा समूहले उम्मेदवारी घोषणा गरेकाले आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेका बताए । ‘मिलेर जाने भन्ने पक्षमा थियौं । उहाँहरुले उम्मेदवारी दिने घोषणा एक्कासी गर्नुभयो,’खतिवडाले भने, ‘हामी साथीभाई नै हो । हार्दिकताका साथ चूनाव लड्छौं । जसले जिते पनि ऊर्जा क्षेत्रका लागि काम गर्छौं ।’ खतिवडाले इप्पानका धेरै सदस्यहरुले उम्मेदवारी दिन आग्रह गरेपछि दिन लागेको बताए ।

उनले निजी क्षेत्र र ऊर्जाका विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुलाउन पहल गर्ने, इप्पानको भुमिका थप सशक्त बनाउने,आरसीओडी, कन्टिजेन्सीको समस्याहरु समाधान गर्न पहल गर्ने बताए । झण्डै १५ हजार मेगावाट आयोजनाहरु पीपीएको पर्खाइमा छन् ।

सरकारले १० वर्षमा ३० हजार मेगावाट उत्पादन गर्न लक्ष्य लिएको छ । झण्डै दुई तिहाईको सरकारले यो लक्ष्य लिएर अघि बढेको छ । आफ्नो घोषणापत्रमा पनि यहि विषय उल्लेख छ । ३५ वर्षबाट लाइसेन्सको अवधि ५० वर्ष पुर्‍याउने घोषणापत्रमा उल्लेख छ । लाइसेन्स अवधि बढाउने घोषणापत्र कार्यान्वयका लागि आफुले पहल गर्ने बताए ।

ठूलो संख्यामा जलविद्युत आयोजनाहरु बनिरहेपनि त्यसको बजार नपाएको र प्रसारणलाइन नहुँदा वर्षेनी निजी क्षेत्रले उत्पादन गर्ने ठूलो परिमाणको बिजुली खेर जाने अवस्था छ । उत्पादित बिजुली लोड सेन्टरसम्म लैजान प्रसारणलाइन छैन् । निजी क्षेत्रले विद्युत व्यापार गर्न अनुमति पाएको छैन् ।

विद्युत व्यापार,प्रसारणलाइन निर्माणका लागि निजी क्षेत्र पूर्ण रुपमा तयार छ । त्यसका लागि पहल गर्ने बलराम खतिवडाको दाबी छ । ‘मेरो एजेण्डा नै इप्पान निजी क्षेत्र र ऊर्जा विकास हो । म बलियो उम्मेदवार पनि हो । सबैतिरबाट अत्यन्त सकारात्मक प्रतिक्रियाहरु आइरहेको छ,’ उनले भने, ‘जीतको सम्भावना ठूलो छ । हामी केहि दिनमा नै तयारी सकेर उम्मेदवारी घोषणा गर्दैछौं ।’

सुरुमा वरिष्ठ उपाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिने तयारी गरेका थिए । तर खतिवडा र लामाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।


Read Previous

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षसम्म पनि अधुरै, ४२ करोडको आयोजना, प्रगति ४० प्रतिशत मात्रै

Read Next

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक, सूची सहित हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar