Nepal Purbadhar

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षसम्म पनि अधुरै, ४२ करोडको आयोजना, प्रगति ४० प्रतिशत मात्रै


कर्णाली, ८ जेठः सुर्खेत पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । करिब १३ किलोमिटर सडक चार वर्षसम्म पनि पूरा नहुँदा तीन पालिकाका ७५ हजारभन्दा बढी नागरिक हिउँदमा धुलो र वर्षामा हिलोको समस्या झेल्न बाध्य भएका छन् ।

अनक/जयदेवी जेभी निर्माण सेवाले आर्थिक वर्ष २०७८/७९ मा दुई वर्षभित्र सडक कालोपत्र सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२.२ प्रतिशत मात्र पुगेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीका अनुसार सुरुमा रुख कटान, भोगाधिकार, विद्युत् लाइन व्यवस्थापन तथा प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भए पनि पछिल्लो समय निर्माण कम्पनीकै सुस्तताले काम प्रभावित भएको हो । एकपटक म्याद थप्दा पनि काम नसकिएपछि आगामी आर्थिक वर्ष २०८३/८४ को चैतसम्मका लागि पुनः म्याद थप्ने तयारी गरिएको छ । तोकिएको समयभित्र काम पूरा नभए कारबाही गरिने चेतावनी पनि निर्देशनालयले दिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि शङ्कर रावतले मध्यपूर्व तनावका कारण इन्धन अभाव र महँगीले काम प्रभावित भएको बताएका छन् । दैनिक दुई हजार लिटर आवश्यक पर्ने अवस्थामा ६०० लिटर मात्र इन्धन उपलब्ध भइरहेकाले उपकरण सञ्चालनमा समस्या भएको उनको भनाइ छ । उनले जेठ मसान्तभित्र सडकलाई सहज आवागमनयोग्य बनाउने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय जनप्रतिनिधिले भने निर्माण व्यवसायीको लापरवाहीका कारण जनताले दुःख पाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले अब कुनै बहाना नगरी कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।


Read Previous

कालीगण्डकी करिडोर : नौ वर्षदेखि अलपत्र कोवाङ–जोमसोम सडकको ठेक्का सम्झौता रद्द

Read Next

‘ऊर्जा क्षेत्र बचाउन बलियो नेतृत्व चाहिन्छ’ भन्दै बलराम खतिवडा चुनावी मैदानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar