Nepal Purbadhar

साँगा चोकमा यसरी बन्दै छ अण्डरपास- तस्वीरमा हेर्नुहोस्


काठमाडौं। उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपास तीव्रता पाएको छ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो ।

हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुई/दुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बाँयातर्फ दुई लेनको एकतर्फी अण्डरपास निर्माण भइरहेको छ ।

आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ ।

अण्डरपासको कुल लम्बाइ एक हजार ११० मिटर रहेको छ । यसमध्ये २० मिटर पुल, बनेपातर्फ १९० मिटर तथा भक्तपुरतर्फ ९०० मिटर अप्रोच सडक निर्माण भइरहेको छ । अण्डरपासको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर रहनेछ । हालसम्म अण्डरपास निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ ।

अण्डरपासको मुख्य संरचना र अप्रोच सडक निर्माण सम्पन्न भइसकेको छ भने अहिले साइड शेयरवाल र पेभमेन्ट सतहको काम अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएपछि भक्तपुरबाट बनेपातर्फ जाने सवारीसाधन अण्डरपास मार्फत सञ्चालन हुनेछन् भने बनेपाबाट भक्तपुर आउने सवारीसाधन माथिल्लो सडकमार्ग प्रयोग गर्नेछन् । अण्डरपास निर्माण कार्य सूर्यविनायक–साँगा सडक खण्डको ठेक्का पाएको निर्माण कम्पनीले नै गरिरहेको हो ।

तस्बीर : सूर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी


Read Previous

डाडाखेत–राहुघाट प्रसारण लाइनकालागि दुई वर्षपछि रुख कटान अनुमति

Read Next

मुस्ताङमा पहिलो पटक एआई प्रविधियुक्त ड्रोनमार्फत वन गस्ती शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar