
म्याग्दी । डाडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाका लागि वन क्षेत्रमा रुख कटान अनुमति मन्त्रिपरिषद्को निर्णय भएको दुई वर्षपछि प्राप्त भएको छ। २०८० फागुन ६ गते मन्त्रिपरिषद्ले सामुदायिक र राष्ट्रिय वनको २५.६२ हेक्टर क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको थियो। तर डिभिजन वन कार्यालयले गत शुक्रबार मात्रै कटान आदेश जारी गरेको हो।
आयोजनाका अनुसार कटान आदेश नपाउँदा वन क्षेत्रमा तार तान्ने काम रोकिएको थियो। अनुमति पाएपछि निर्माणले पुनः गति लिएको छ। आयोजनास्थलमा तीन हजार ९३६ वटा रुख रहेका छन् भने ८२ वटा टावरमध्ये ४० वटा वन क्षेत्रमा निर्माण हुँदैछन्।
हाल आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ। प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि सन् २०२१ मा लार्सन एन्ड टुब्रो लिमिटेडसँग तीन अर्ब ५७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पटक–पटक म्याद थपिएपछि अब २०२६ मे १६ सम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कुल चार अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना सम्पन्न भएपछि म्याग्दी र राहुघाट क्षेत्रमा उत्पादित जलविद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज हुने अपेक्षा गरिएको छ।

