
मुस्ताङमा पहिलो पटक एआई प्रविधियुक्त ड्रोनमार्फत वन गस्ती शुरू गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, अन्तर्गतको इलाका संरक्षण कार्यालय जोमसोमले उच्च लेक, खर्क तथा पाटन क्षेत्रको अनुगमन गर्न आधुनिक एआई ड्रोन प्रयोगमा ल्याएको हो ।
मुस्ताङमा यसअघि ड्रोन प्रविधि चलचित्र, डकुमेन्ट्री तथा विभिन्न सांस्कृतिक गतिविधिको छायाङ्कनमा प्रयोग हुँदै आएको भए पनि वन गस्तीका लागि एआई ड्रोन प्रयोग गरिएको यो पहिलो पटक हो । दुर्गम भूगोल, न्यून मानव बस्ती र उच्च हिमाली क्षेत्रमा वन अनुगमनलाई प्रभावकारी बनाउन उक्त प्रविधि प्रयोग गरिएको जनाइएको छ ।
एक्याप जोमसोमका अनुसार संरक्षित वन, वनपैदावार तथा वन्यजन्तुको संरक्षणका साथै चोरी शिकारी र अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न एआई ड्रोन परिचालन गरिएको हो ।
ड्रोनमार्फत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ को लुप्रा लेक तथा घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखु लेक क्षेत्रमा गस्ती गरिसकिएको छ । यार्सागुम्बा संकलनको सिजन चलिरहेका बेला एक्यापले ड्रोनमार्फत छड्के अनुगमनसमेत गरिरहेको जनाएको छ ।
यार्सा संकलनका क्रममा हुनसक्ने अवैध गतिविधि, पासो थाप्ने, बन्दुक बोकेर चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग गरिएको हो ।
एक्यापका अनुसार प्रयोग गरिएको ड्रोनको तौल १ हजार ६३ ग्राम रहेको छ । उक्त ड्रोनले १५ देखि २० किलोमिटरसम्म दूरी तय गर्न सक्ने, ६ किलोमिटरसम्म उचाइमा पुग्न सक्ने तथा प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा उड्न सक्ने क्षमता राख्छ ।
