
काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ले आधिकारिक टिकटक एकाउन्ट बनाएको छ ।
मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो सन्देशसँगै ह्वाइट हाउसले आधिकारिक टिकटक एकाउन्ट सुरु गरेको हो । राष्ट्रपति ट्रम्पको सन्देशलाई प्रचार गर्ने उदेश्यसहित यो एकाउन्ट खोलिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प विगतमा टिकटक र अन्य चीनियाँ लगानीका एपहरुप्रति नकरात्मक रहेका थिए । यद्यपी २०२४ को अमेरिकी राष्ट्रपतिय निर्वाचनका क्रममा आफूप्रति युवा उम्मेदवारहरुको सहर्थन जुटाउनमा टिकटकको पनि भूमिका भएपछि ट्रम्प टिकटकप्रति केही सहज रुपमा प्रस्तुत भएका छन् ।
ट्रम्पले भने गत वर्ष राष्ट्रपतिय निर्वाचनकै क्रममा अभियान सञ्चालन गर्न आधिकारिक एकाउन्ट खोलेका थिए । हाल उक्त एकाउन्टमा १ करोड ५० लाखभन्दा धेरै फलोअर्सहरु रहेका छन् ।
ह्वाइट हाउसले मंगलबार सुरु गरेको एकाउन्टमा भने हालसम्म तीन वटा भिडियो हालिएका छन् र १ लाख १० हजार जनाले उक्त एपलाई फलो गरेका छन् ।
टिकटकलाई लिएर अमेरिकामा दुई किसिमको बुझाई रहेको छ । एकथरि सांसदहरुले टिकटकले अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत जानकारी तथा विवरण चीनियाँ सरकारलाई दिने भन्ने गरेको छ भने अर्काथरिले यसलाई खुलेर प्रयोग गर्दै आएका छन् । यसबीच अमेरिकी राष्ट्रपति ट्रम्पले भने टिकटकको मुल कम्पनी बाइटडान्स अमेरिकी लगानीकर्ताले खरिद गर्नका लागि बाटो बनाउन खोजिरहेका छन् ।