
इलामको कन्याम चिया बगान। तस्बीर: नेपाल पूर्वाधार।
बनियानी। नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग र चिया बगान बन्द गर्ने घोषणा गरेका छन्।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएपछि उद्योगीहरूले यस्तो निर्णय गरेका हुन्।
नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको छ। तीमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको छ।

नेपाल चिया उत्पादक सङ्घ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलन गर्दै भोलिदेखि उद्योग र बगान बन्द गर्ने जानकारी दिएको हो। उद्योगीहरूले चिया निर्यातका लागि बङ्गलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकलाई वैकल्पिक बजारका रूपमा विकास गर्न सकिने बताउँदै त्यसका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपालको चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ भने वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्वमा योगदान पुर्याउँदै आएको छ।

