Nepal Purbadhar

एआई चिपको माग बढ्दो: टीएसएमसीको व्यवसाय चम्किँदा रेकर्ड आम्दानी गरेको ब्रोडकमको शेयरमा गिरावट


काठमाडौं। विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै उन्नत सेमिकन्डक्टर चिप र नेटवर्किङ पूर्वाधारको माग अभूतपूर्व रूपमा बढेको छ। यसैबीच विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता ताईवान सेमीकन्डक्टर मेनुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले आगामी वर्षहरूमा बलियो वृद्धिको प्रक्षेपण गर्दा अर्को प्रमुख चिप उत्पादक ब्रोडकमले भने रेकर्ड वित्तीय विवरण हालै सार्वजनिक गरेपनि कम्पनीको शेयर बजारमा गिरावटको सामना गरेको छ।

ताइवानको ह्सिन्चु शहरमा आयोजित टीएसएमसी को वार्षिक शेयरधनी बैठकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सी.सी. वेईले उपभोक्ता, व्यावसायिक तथा सार्वभौम एआई क्षेत्रमा एआई मोडेलहरूको प्रयोग व्यापक बन्दै गएको बताए। यस प्रवृत्तिले उच्च कम्प्युटिङ क्षमता र उन्नत चिपहरूको मागलाई थप बलियो बनाएको उनको भनाइ छ। एनभिडिया जस्ता विश्वव्यापी प्रविधि व्यवसायका प्रमुख आपूर्तिकर्ता रहेको टीएसएमसीले एआई चिपको उच्च माग पूरा गर्न यस वर्ष आफ्नो पूँजीगत लगानी र आम्दानी प्रक्षेपण समेत बढाएको छ।

यता एआई पूर्वाधार र कस्टम चिप (एएसआईसी) बजारको अग्रणी कम्पनी ब्रोडकमकमले पनि अप्रिलमा समाप्त त्रैमासमा ऐतिहासिक वित्तीय प्रदर्शन गरेको छ। कम्पनीको एआई चिपसम्बन्धी आम्दानी १४३ प्रतिशतले बढेर १०.८ अर्ब डलर पुगेको छ भने कुल त्रैमासिक आम्दानी ४८ प्रतिशतको वृद्धिसहित २२.१९ अर्ब अमेरिकी डलर पुगेको छ। ब्रोडकमका सीईओ हक टानले चालु त्रैमासमा यो आम्दानी अझ बढेर २९.४ अर्ब डलर पुग्ने प्रक्षेपण गरेका छन्, जुन बजार विश्लेषकहरूको अपेक्षाभन्दा बढी हो।

विरोधाभासपूर्ण बजार, टीएसएमसीमा उछाल, ब्रोडकममा गिरावट

उत्कृष्ट व्यावसायिक मागका बीच दुवै कम्पनीप्रति लगानीकर्ताको प्रतिक्रिया भने फरक देखिएको छ। टीएसएमसीको शेयर मूल्यमा गत एक वर्षमा अभूतपूर्व उछाल आएको छ। गत वर्ष जुनमा प्रतिशेयर ९५० ताइवानी डलर रहेको टीएसएमसी को मूल्य बढेर २,४२५ ताइवानी डलर पुगेको छ। व्यवसाय बलियो भएपछि कम्पनीले सन् २०२३ देखि २०२६ सम्म कर्मचारीको बोनसमा प्रतिवर्ष ३० प्रतिशतले वृद्धि हुने आकर्षक योजना सार्वजनिक गरेको छ।

यसको विपरीत, ब्रोडकमले रेकर्ड आम्दानी र बलियो भविष्यको प्रक्षेपण सार्वजनिक गरेकै दिन बुधबार कारोबारपछिको सत्र (आफ्टर-आवर्स ट्रेडिङ) मा उसको शेयर मूल्य १३ प्रतिशतभन्दा बढीले घटेर ४१८ डलरसम्म झर्‍यो। विश्लेषकहरूका अनुसार पछिल्ला तीन महिनामा ब्रोडकमको शेयर ५० प्रतिशतभन्दा बढीले बढिसकेकाले लगानीकर्ताहरूले “सेल द न्युज” (राम्रो समाचार आएपछि नाफा सुरक्षित गर्ने) रणनीति अपनाएका हुन्। डाइरेक्सनका रायन लीका अनुसार एआई बजारको वृद्धि निरन्तर रहन लगानीकर्ताले कम्पनीहरूबाट ‘शतप्रतिशत पूर्ण नतिजा’ को अपेक्षा राखिरहेकाले यस्तो गिरावट देखिएको हो।

बजारमा माग उच्च रहे पनि दुवै कम्पनीले फरक-फरक प्रकृतिका चुनौतीहरूको सामना गरिरहेका छन्। टीएसएमसीका सामु चीन र ताइवानबीचको भूराजनीतिक तनाव मुख्य चुनौतीका रूपमा रहेको छ। कम्पनीले अमेरिकामा उत्पादन प्लान्ट विस्तार गरिरहेको भए पनि त्यहाँबाट विश्वव्यापी माग पूर्ण रूपमा सम्बोधन गर्न अझै धेरै समय लाग्ने सीईओ वेईले स्वीकार गरे।

अर्कोतर्फ, ब्रोडकमले भने आपूर्ति व्यवस्थापन र बजारको अत्यधिक दबाब झेल्नुपरेको छ। यद्यपि, गुगलसँगको दशक लामो टेन्सर प्रोसेसिङ युनिट (टीपीयु) विकासको साझेदारी र बजारमा प्रभुत्व जमाएको ‘Tomahawk’ नेटवर्किङ चिपसेट शृङ्खलाका कारण ब्रोडकमको दीर्घकालीन पकड बलियो रहने जेपी मोर्गनका विश्लेषकहरूको दाबी छ।

ताइवानमा जारी वार्षिक ‘कम्प्युटेक्स’ सम्मेलनमा एनभिडियाका सीईओ जेन्सेन हुआङले आपूर्ति शृङ्खलामा केही चुनौती रहे पनि एआईको विस्तार रोकिनेवाला नभएको स्पष्ट पारेका छन्। समग्रमा, शेयर बजारको उतारचढाव जे-जस्तो रहे पनि एआई क्रान्तिका कारण सेमिकन्डक्टर उद्योगको भविष्य निकै उज्ज्वल र प्रतिस्पर्धात्मक देखिन्छ।


Read Previous

गुगलको निर्भरता घटाउँदै युरोपेली देश, संसदहरूले फ्रान्सेली सर्च इन्जिन क्वान्ट प्रयोग गर्ने

Read Next

हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ आजदेखि शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar