
काठमाडौं । नेपाल राष्ट्र बैंक ले नयाँ विशेषतासहितको ५०० रुपैयाँ दरको बैंक नोट असार ३ गतेदेखि चलनचल्तीमा ल्याउने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै साविककै आकार र रङमा तयार गरिएको ५०० रुपैयाँ दरको नयाँ श्रृंखलाको नोट सर्वसाधारणको प्रयोगका लागि जारी गर्न लागेको जनाएको हो।
बैंकका अनुसार नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालिगुराँसको वाटरमार्क तथा दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने विशेष चिन्ह समावेश गरिएको छ। त्यस्तै, नोटमा सुरक्षा धागो, रङ परिवर्तन हुने सुरक्षा चिन्ह तथा गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहने व्यवस्था गरिएको छ।
नोटको पछाडिको भागमा पाटेबाघको चित्र, ‘NEPAL RASTRA BANK’ र ‘RUPEES FIVE HUNDRED’ उल्लेख गरिएको छ भने ‘2025 A.D.’ अंकित गरिएको छ।
राष्ट्र बैंकले यसअघि जारी गरिएको ५०० रुपैयाँ दरका नोटहरू पनि प्रचलनमै रहने स्पष्ट पारेको छ। नयाँ नोट प्रचलनमा आएपछि पनि पुराना नोटहरूको कानुनी मान्यता यथावत रहने बैंकले जनाएको छ।
