
काठमाडौं। काठमाडौं महानगरपालिका–१३ अन्तर्गत भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ किनारमा रहेको कालिमाटी–कुलेश्वर करिडोर सडक विस्तार तथा कालोपत्रे भएसँगै आवतजावत सहज भएको छ।
यसअघि टेकु क्षेत्रसम्म मात्र पिच रहेको उक्त करिडोरलाई विस्तार गरी कालिमाटी पुलदेखि कुलेश्वर हुँदै बल्खुसम्म जोडिएको हो। कालिमाटी पुलको दायाँपट्टि रहेका अनधिकृत संरचना हटाइएपछि खाली भएको क्षेत्रमा सडक निर्माण सम्पन्न गरिएको छ।
यसअघि अव्यवस्थित बस्तीले ढाकिएको क्षेत्र अहिले खुला र व्यवस्थित देखिएको छ। वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै नदी किनारका बस्ती हटाइएपछि करिडोर विस्तारको काम अघि बढाइएको थियो।
नयाँ सडक सञ्चालनमा आएपछि कालिमाटी चोकको सवारी चाप कम गर्दै चालकहरू सिधै करिडोरमार्फत कुलेश्वर र बल्खुसम्म पुग्न सक्ने भएका छन्। यसले भीममुक्तेश्वर क्षेत्रका स्थानीय बासिन्दालाई समेत आवतजावतमा सहजता दिएको छ।
स्थानीयका अनुसार करिडोर विस्तारले बागमती पुल हुँदै ललितपुरतर्फ जाने यात्रुलाई समेत सहज बनाएको छ। यससँगै यातायात व्यवस्थापनमा सुधार आउने र दैनिक ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ।














तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

