Nepal Purbadhar

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन खुला


काठमाडौं। काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।

समितिका अनुसार सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत दरखास्त पेस गर्न सकिनेछ। उपकुलपति नियुक्ति प्रक्रिया ‘काठमाडौँ विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अघि बढाइएको जनाइएको छ।

यसअघि जेठ १९ गते बसेको विश्वविद्यालय सभाको बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।

समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा सदस्य रहेका छन्।

समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य उम्मेदवारको नाम उपकुलपति पदका लागि सिफारिस गर्नेछ। शैक्षिक गुणस्तर, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा अग्रणी मानिने काठमाडौँ विश्वविद्यालयमा नयाँ नेतृत्व चयनसँगै संस्थागत तथा शैक्षिक विकासका कार्यले थप गति लिने अपेक्षा गरिएको छ।


Read Previous

राहदानी छपाइ ठेक्का प्रकरणमा थप दुई जना अख्तियारको नियन्त्रणमा

Read Next

भारतीय नियमका कारण चिया उद्योग संकटमा, भोलिदेखि उद्योग र बगान बन्द हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar