
काठमाडौं । आगामी आर्थिक वर्षका लागि ६ महानगरपालिकामध्ये पाँच महानगरपालिकाले बजेट ल्याएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार स्थानीय सरकारले असार १० भित्रमा आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्नेमा काठमाडौं महानगरपालिकाले भने बजेट ल्याउन सकेको छैन । देशका अन्य ५ महानगरपालिकाले भने समयमा नै बजेट प्रस्तुत गरेका हुन् ।
कुन महानगरले कति ल्यायो बजेट?
कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगरले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
महानगरकी उपप्रमुख शिल्पा निरौलाले प्रस्तुत गरेको बजेटमा चालु आर्थिक वर्षको भन्दा बढि आकारको बजेट ल्याइएको छ । चालुल आर्थिक वर्षमा बिराटनगरले ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो ।
त्यस्तै, वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसमध्ये चालु खर्चका लागि २ अर्ब २६ करोड र पूँजीगत खर्चका लागि ९२ करोड ३४ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट पनि चालु आर्थिक वर्षको बजेट भन्दा धेरै छ । चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरपालिकाले २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो ।
काठमाडौं उपत्यकाभित्रको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा सामान्य मात्रै बृद्धि गरेर ल्याइएको आगामी वर्षको बजेटमा ललितपुर महानगरपालिकाले २ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ चालु खर्चका लागि र ४ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्चका लागि बिनियोजन गरिएको छ ।
चीतवनस्थित भरतपुर महानगरपालिकाले भने आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम ल्याएको छ । चालु आर्थिक वर्षमा ६ अर्ब ५५ करोड ७५ लाख रुपैयाँको बजेट बिनियोजन गरेको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
त्यस्तै, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि ७ अर्ब ५१ करोड रुपैयाँको बजेट ल्याएको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि भने केही बृद्धि गरेर बजेट सार्वजनिक गरेको हो ।
काठमाडौंले किन ल्याउन सकेन बजेट?
६ मध्ये पाँच महानगरपालिकाले बजेट सार्वजनिक गरिरहँदा काठमाडौं महानगरपालिकाले भने बजेट सार्वजनिक गर्न सकेको छैन । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र कार्यकारी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण आगामी आर्थिक वर्षको बजेट आउन नसकेको हो । महानगरका मेयर बालेनले गुरागाईंलाई अस्वीकार गर्दै आएका छन् । दुई बीचको द्वन्द्वले हाल काठमाडौंको बजेट ल्याउनका लागि नगरसभा बैठक समेत बस्न सकेको छैन ।