काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेल–खावा सडक खण्डको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । डिभिजन कार्यालयले सडक निर्माणको जिम्मा पाएको गौरी पार्वती कम्पनीले सम्झौता अनुसार काम गर्न नसकेको भन्दै ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको हो ।
डिभिजन कार्यालयले सोमबार सूचना जारी गरी गौरी पार्वती निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढेको जनाएको हो । सडक खण्डको ठेक्का तोड्नु नपर्ने कारण भएमा निर्माण कम्पनीलाई ७ दिनभित्र पेश स्पष्टिकरण मागिएको छ ।
निर्माण कम्पनीलाई पटक–पटक तालिका अनुसार काम गर्न लिखित तथा मौखिक सूचना दिँदा समेत काममा नफर्कि सम्पर्क विहिन भएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउनु परेको सूचनामा भनिएको छ ।
ठेक्का सम्झौता अनुसार गौरी पार्वती कम्पनीले २२ महिनामा ४ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । तर, ठेक्का सम्झौता लागु भएको १० महिना बितिसक्दा सडक खण्डमा १० प्रतिशत मात्रै भौतिक प्रगति रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबीच २२ महिनामा काम सम्पन्न गर्ने गरी २० करोड १९ लाख रुपैयाँमा २०७९ साल जेठ २० गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले आगामी चैतमा सडकको निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । तर,ठेकेदार काम नगरी सम्पर्क विहिन भएको सडक डिभिजन कार्यालयको भनाइ छ ।