
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको ‘विद्युत नियमन आयोगको अध्यक्षमा दरखास्त दिएकाहरूबाट ७ जनालाई छनोट समितिले सर्टलिस्टमा पारेको छ। ‘अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समिति’ ले सर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको छ।
समितिको सूचना अनुसार आयोगको रिक्त पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने ७ जना उम्मेदवारहरू छनोट भएका हुन।
सूचना अनुसार छनोट भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम आगामी २०८३ साल असार ६ गते शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको बैठक कक्षमा दुई सत्रमा सञ्चालन हुने भएको छ।
प्रथम सत्रमा चार जना उम्मेदवारहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन्। यस सत्रमा केशवध्वज अधिकारी (ललितपुर महानगरपालिका–११), डा. रामप्रसाद धिताल (चौतारा चौक, सागाचोक–७, सिन्धुपाल्चोक), मधुप्रसाद भेटुवाल (बुढानिलकण्ठ नगरपालिका–६, काठमाडौँ) र मोतीबहादुर कुँवर (काठमाडौँ महानगरपालिका–१६, बालाजु) सहभागी हुनेछन्।
प्रत्येक उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न अधिकतम १५ मिनेटको समय सीमा तोकिएको छ। त्यसपछि समितिले अन्तर्वार्ता सञ्चालन गर्नेछ।
दोस्रो सत्रमा बाँकी तीन जना उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने छ। यस सत्रमा डा. मधुसुधन अधिकारी (काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोला), डा. भोलानाथ शर्मा घिमिरे (गोरखा–१०, गोरखा) र नारायणप्रसाद सापकोटा (भरतपुर महानगरपालिका–१२, चितवन) सहभागी हुनेछन्।
यस सत्रमा पनि प्रत्येक उम्मेदवारलाई १५ मिनेटको समय सीमा तोकिएको छ। त्यसपछि अन्तर्वार्ता सञ्चालन गरिनेछ।
समितिले अन्तर्वार्ताका लागि उपस्थित हुने उम्मेदवारहरूले दरखास्तसाथ पेस गरेका आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा आवश्यक कागजातहरूको सक्कल प्रति अनिवार्य रूपमा साथमा लिएर आउनुपर्ने जनाएको छ।


