
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले चिया निर्यातमा देखिएको अवरोध समाधान गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ।
महासङ्घले भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको जनाएको छ।
महासङ्घका अनुसार चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले महत्वपूर्ण र रणनीतिक क्षेत्र हो। नेपाल चिया उत्पादक सङ्घबाट प्राप्त विवरणलाई आधार मानेर तत्काल ठोस कूटनीतिक तथा नीतिगत कदम चाल्न सरकारसँग आग्रह गरिएको छ।
नेपालको चिया उद्योगले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ। यसमध्ये पाँच अर्ब रुपैयाँभन्दा बढीको चिया भारततर्फ निर्यात हुँदै आएको छ, जसले व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउँदै आएको महासङ्घको भनाइ छ।
चिया क्षेत्रले ६० हजारभन्दा बढी श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको र वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्वमा योगदान गर्दै आएको उल्लेख गर्दै महासङ्घले हाल देखिएको समस्या गम्भीर भएको बताएको छ।
महासङ्घले चिया किसान, मजदुर र उद्यमीको भविष्यसँग जोडिएको विषय भएकाले सरकारलाई उच्च प्राथमिकताका साथ कूटनीतिक पहलमार्फत समाधान गर्न आग्रह गरेको छ।
