
काठमाडौं। नागरिक लगानी कोष र एभरेष्टबैंकबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
आज सम्पन्न सम्झौतामा कोषका निर्देशक नवराज खड्का र बैंकका प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार एभरेष्ट बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन नागरिक लगानी कोषले गर्नेछ।
कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम तथा विवरणका आधारमा खाता अद्यावधिक गर्ने र बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनेछ।
यस्तै, कर्मचारीहरूले कोषमा जम्मा गरेको रकमबाट आर्जित ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियमअनुसार प्राप्त गर्नेछन्।
सम्झौतामा आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको रकम तथा बहाल रहेका कर्जासमेत कोषमा रकमान्तर गरी समायोजन गरिने व्यवस्था गरिएको छ।

