Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

प्राधिकरणले विद्युत महसुल नतिर्ने ७ कार्यालयसहति २५३ ग्राहककाे लाइन काट्याे


कैलाली । नेपाल विद्युत प्राधिकरणले  लामो समयदेखि विद्युत महसुल नतिर्ने ७ सरकारी कार्यालयसहित २५३ ग्राहककाे लाइन काटेकाे छ । प्राधिकरणकाे धनगढी वितरण केन्द्रले  पटक-पटक ताकेता गर्दासमेत महसुल तिर्न अटेर गर्ने यी ग्राहककाे लाइन काटेकाे हाे ।

महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत लाइन काटी बाँकी बक्याैता असुल्न सुरु गरेकाे वितरण केन्द्रले जनाएकाे छ । लाइन काटिने सरकारी कार्यालयमा मालपोत, नापी, भूमिसुधार, सडकलगायत छन् । यी कार्यालयले ६ लाख २ हजार ६ सय ७ रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ ।

वितरण केन्द्रका अनुसार धनगढी र अत्तरियाका ग्राहकले १ करोड ५३ लाख ४९ हजार ३६५ रुपैयाँ विद्युत बक्याैता तिर्न बाँकी छ । लाइन काटेर कारबाही सुरु  गरेपछि  १८० जना  ग्राहकले जरिवानासहितकाे विद्युत बक्याैता बुझाएकाे वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोयलले बताए । उनले १ महिनामा यी ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ रुपैयाँ विद्युत महसुलबापतको रकम असुली भएको बताए ।

लाइन काटिएका सरकारी कार्यालयबाट १ लाख ४८ हजार ६ सय ४० मात्र विद्युत महसुलबापतको रकम असुली भएको गोयलले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् ।

वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।

लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको जनाइएको छ ।


Read Previous

जयनगर-बर्दिबास रेल्वेको तेस्रो खण्डको काम सुरु

Read Next

मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेसनको परीक्षण पूरा,स्थानीय अवराेधले सञ्चालनमा समस्या

Leave a Reply

Your email address will not be published.