Nepal Purbadhar

भिमफेदी दुर्घटनाले सुन्दरपुर गाउँ शोकमा, एकै गाउँका १३ जनाको मृत्यु


सर्लाही। मकवानपुरको भिमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ। छठ पर्व मनाउन घर फर्किने क्रममा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन्। गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलोसमेत बलेको छैन।

छठ पर्व मनाउन काठमाडौंँबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भिमफेदी गाउँपालिका–६, चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो। मृतकमध्ये १३ जना सुन्दरपुरका हुन्।

छठ पर्वको तयारीमा जुटेको गाउँ दुर्घटनाको खबरसँगै शोकमा डुबेको छ। आफन्तको आगमनको प्रतीक्षामा रहेका परिवार अहिले शव कहिले आइपुग्छ भन्ने पर्खाइमा छन्। गाउँमा छठघाट निर्माण, सरसफाइ र पाहुनाको स्वागतको तयारी चलिरहेका बेला भएको दुर्घटनाले उत्सवको माहोललाई शोकमा बदलिदिएको छ।

दुर्घटनामा छोरा गुड्डु यादव र बुहारी गायत्री देवी गुमाएका प्रमोद यादवका अनुसार बुधबार साँझ छोराले गाउँका साथीभाइसँगै भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी दिएका थिए। तर, भोलिपल्ट बिहानै दुर्घटनाको खबर आएपछि परिवारमा बज्रपात परेको उनले बताए।

गुड्डु र गायत्रीका दुई छोरा सक्षम र सुजन पनि गाडीमा सवार थिए। पाँच वर्षीय सक्षम दुर्घटनामा बाँच्न सफल भएका छन् भने अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौंमा उपचार भइरहेको छ। सक्षमलाई भने आफ्ना आमाबुबाको मृत्यु भएको जानकारी दिइएको छैन।

दुर्घटनाका क्रममा बुबाले आफूलाई गाडीबाट बाहिर फालेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकोसम्म सम्झना रहेको सक्षमले बताएका छन्। भक्तपुरको इमाडोल क्षेत्रमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले परिवार पाल्दै आएका थिए। आमाबुबा गुमाएपछि दुवै बालक अभिभावकविहीन भएका छन्।

दुर्घटनामा सुन्दरपुरकै एकै परिवारका छ जनाको मृत्यु भएको छ। अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनम यादव, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपिका तथा भाइहरू निकेश र सुधेश यादवको ज्यान गएको हो। उनीहरूका १४ महिनाका छोरा सुदीपको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, निरशु यादवका छोरा ४० वर्षीय राकेश राय र नाति १८ वर्षीय रोहन रायको पनि दुर्घटनामा मृत्यु भएको छ। सोही गाउँका अमिरी रायका छोरा २५ वर्षीय रामप्रवेश यादव, चन्देश्वर रायका छोरा २५ वर्षीय सुवोध राय र निरश रायका छोरा २५ वर्षीय रामदुलार रायले पनि ज्यान गुमाएका छन्। दुर्घटनामा सर्लाहीको कविलासीका ३० वर्षीय चालक रविशङ्करकुमार मण्डलको समेत मृत्यु भएको छ।

एकै परिवारका छ जनाको मृत्यु भएपछि आफन्तको अवस्था सम्हालिनसक्नु बनेको छ। उनीहरूका परिवारका सदस्य पटकपटक अचेत हुने गरेको स्थानीय विपुलकुमारले बताए। छिमेकीले सबैको उपचार भइरहेको भन्दै सम्झाउने प्रयास गरिरहेका छन्।

यस दुर्घटनाले स्थानीयलाई १२ वर्षअघिको अर्को दुःखद् घटनाको पनि स्मरण गराएको छ। विसं २०७१ कात्तिक १८ गते मकवानपुरको चुरियामाईमा इँटा बोकेको ट्रक दुर्घटना हुँदा सर्लाहीको तत्कालीन औरही गाविसका सात जनाको मृत्यु भएको थियो। ट्रकभित्र लुकेर बसेका उनीहरू ट्रक पल्टिँदा इँटाले थिचिएका थिए।

यसैबीच, स्थानीयले दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। घटनालगत्तै चक्रघट्ट गाउँपालिकाका अध्यक्ष कृष्ण यादवसहितको टोली मकवानपुर पुगेको थियो।

गाउँपालिका अध्यक्ष यादवका अनुसार शव परीक्षणपछि मृतकका शव गाउँ ल्याइनेछ। दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक घोषणा गरेको छ। साथै मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए।

तर, पीडित परिवारले राहत र क्षतिपूर्तिको स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन्। आफन्तको शव गाउँ ल्याउने प्रतीक्षामा रहेका परिवारले न्याय, उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


Read Previous

छठको रौनकले कालीमाटी बजारमा बढ्यो चहलपहल, पूजा सामग्री किन्नेको भीड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar