Nepal Purbadhar

१ हजार २१६ मेगावाटको खिम्ती-ठोसे-शिवालय आयोजना अध्ययन हुने, छुट्याइयो बजेट


काठमाडौं। रामेछापमा प्रस्तावित १ हजार २१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आयोजनालाई योजनामा समावेश गरी अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा प्रारम्भिक प्रक्रिया अघि बढाउने उद्देश्यले उक्त बजेट विनियोजन गरिएको हो। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको पहलमा आयोजना अघि बढाउने प्रक्रिया अगाडि बढेको हो।

आयोजनाको कामलाई तीव्रता दिने विषयमा शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल भएको छ। छलफलका क्रममा सभापति बुढाथोकीले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्दै अध्ययन तथा अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन र सरोकारवालासँग आवश्यक छलफल तथा अन्तरक्रियाका कार्यक्रमलाई तीव्रता दिन आग्रह गरेका छन्।

उनले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्नसमेत ध्यानाकर्षण गराएका छन्।

प्रस्तावित आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तारका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

आयोजना कार्यान्वयनमा आए रामेछापको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै राष्ट्रिय ऊर्जा उत्पादन क्षमता वृद्धि, लगानी विस्तार र समग्र अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar