
काठमाडौं। सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिहीबार उनीहरूलाई शपथ गराएका हुन्।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले शपथ लिएका हुन्।
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार नै उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए।
यसअघि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो। समितिबाट अनुमोदन भएपछि न्याय परिषद्को सिफारिसका आधारमा नियुक्तिको प्रक्रिया अघि बढेको हो।


