Nepal Purbadhar

दीपेन्द्रको अर्धशतक निर्णायक बन्दा काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा


काठमाडौं। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफ पुग्ने दोस्रो टोली बनेको हो।

यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। सुदूरपश्चिमको जितसँगै प्लेअफका बाँकी दुई स्थानका लागि अन्य टोलीबीच प्रतिस्पर्धा थप रोचक बनेको छ। पोखरा एभेन्जर्स भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। काठमाडौंका लागि राशिद खानले अविजित ३५ रन बनाए भने दुसन हेमन्थाले २१ र साम हेजलेटले ११ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए। स्कट कुगेलेइन, हेमन्त धामी र फेबियन एलनले समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। सुरुवातमै धरमराएको सुदूरपश्चिमले पहिलो पावरप्लेमा ४ विकेट गुमाएर २१ रन मात्रै जोडेको थियो।

स्कट कुगेलेइन ६, विनोद भण्डारी १ रनमा आउट हुँदा इशान पाण्डे र ब्रान्डन म्याकमुलनले खाता खोल्न सकेनन्।

त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरीले जिम्मेवार ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हाले। उनले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। आरिफ शेखले १६ र थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिए।

दीपेन्द्रले आरिफसँग पाँचौँ विकेटका लागि ५४ रन तथा थरिन्दुसँग छैटौँ विकेटका लागि थप ५४ रनको साझेदारी गरेका थिए।

काठमाडौंका लागि जहानदाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिए।


Read Previous

भिमफेदी दुर्घटनाले सुन्दरपुर गाउँ शोकमा, एकै गाउँका १३ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar