Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे


काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरेको छ । प्राधिकरणले ४ महिनाकाे अवधिमा देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारतीय बजारमा लगेर बिक्री गरेकाे हाे ।

प्राधिकरणले यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

३ महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो ।

साउन,भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रति युनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । ३ महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको छ ।

महिना विद्युत निर्यात (रुपैयाँ) प्रतियुनिट औसत दर (रुपैयाँ)
जेठ ४० करोड ५ लाख ८.९३
असार १ अर्ब ७५ कराेड ७० लाख ७.४२
साउन २ अर्ब १४ कराेड ३३ लाख ८.४३
भदाै ३ अर्ब ४७ कराेड ८५ लाख ११.९७
असोज ४ अर्ब २ कराेड ३५ लाख १०.२०
जम्मा ११ अर्ब ८० कराेड २८ लाख जेठ-असार ९.६७  साउन-असोज १०.२७

स्राेतः नेपाल विद्युत प्राधिकरण

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएन (NTPC Vidyut Vyapar Nigam Ltd-NVVN) लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।

यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताए ।

‘करिब १ सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग प्रस्ताव गरेका थियौं, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौं,’, कार्यकारी निर्देशक घिसिङले भने ,‘चाडपर्व सुरु भइसकेको छ, यसअवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घट्छ, भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युतगृहहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं ।’

प्राधिकरणले बर्खामा भारतीय बजारमा विद्युत निर्यात गरिरहेकाे भएपनि हिउँदमा अपुग हुँदा आयात गरेर माग व्यवस्थापन गर्ने गरेकाे छ । गत आर्थिक वर्षमा बर्खामा ११ अर्बकाे विद्युत भारतीय बजारमा निर्यात हुँदा सुख्खा याममा १९ अर्बकाे आयात गरिएकाे थियाे ।


Read Previous

आर्थिक वर्षकाे पहिलो त्रैमासमा १६ प्रतिशत बजेट खर्च हुँदा १५ प्रतिशत राजस्व सङ्कलन

Read Next

पाँचौं पटक ठेक्का सम्झौताको म्याद थपिँदा पनि मुस्ताङमा सडक र पुल निर्माण अधुरै 

Leave a Reply

Your email address will not be published.