Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

पाँचौं पटक ठेक्का सम्झौताको म्याद थपिँदा पनि मुस्ताङमा सडक र पुल निर्माण अधुरै 


म्याग्दी । पाँचौं पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो-कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको  भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भए पनि अहिलेसम्म काम अधुरै हुन पुगेकाे हाे ।

योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी १४ करोड १९ लाख ६५ हजार पुगिसकेकाे छ ।    कुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुई वर्ष रोकिएको यो पुल निर्माणको काम सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।

कुञ्जोको ताकलुङका बासिन्दा धीरेन्द्र विकले कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते-कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताए ।

“पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ”,उनले भने, “स्थानीयवासीलाई आवतजावतमा असुविधाका साथै आलुलगायत गाउँमा उत्पादन भएको कृषिउपज निकासीमा समस्या भएको छ ।” पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार छयो–कुञ्जोसहित जिल्लामा सञ्चालित ७५ करोड ५१ रुपैयाँ लगतका तीन मोटरेबल पुल र दुई सडक आयोजना ढिलासुस्तीले प्रभावित भएका छन् ।

घरफझोङ गाउँपालिकास्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा–छैरो पुुल बनाउन २०७६ फागुन २९ गते देव एण्ड सायर कन्ट्रक्सनसँग ७ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । दोस्रो पटक थपिएको म्याग्द २०८० असारमा सकिएको यो पुलको भौतिक प्रगति ३५ प्रतिशत छ ।

देव एण्ड सायर कन्ट्रक्सनले २०७६ फागुन २९ गतेनै पाँच करोड पाँच लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको लेते-घुम्पु कालीगण्डकी पुलको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत छ । २०८० चैतसम्म म्याद थपिएको यो आयोजनाको एकातर्फको पिल्लर मात्र तयार भएको छ ।

मुुस्ताङको जिल्ला सदरमुकाम अवस्थित जोमसोम बजार रहेको घरपझोङ गाउँपालिकालाई जोड्ने चक्रपथ बनाउने लक्ष्य अनुसार प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजना कार्यक्रमअन्तर्गत जोमसोम–ठिनी–ढुुम्बा–छैरो–चिमाङ–मार्फा–स्याङ–जोमसोम सडक निर्माण गर्न २०७६ असार २७ गते बन्दना भगवती जलजला जेभीसँग २४ करोड ४५ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

२०८० असोज मसान्तसम्म म्याद भएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । दस किलोमिटर पाँच सय मिटर सडकमध्ये ५ दशमलव ५ किलोमिटरमा प्रिमिक्स कालोपत्र गर्ने योजना रहेको छ ।

२०७६ असारमै ठेक्का सम्झौता भएको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ–थिङगर–किमलिङ–च्युमजुङु सडकको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी छ । २४ करोड ४५ हजारमा ठेक्का सम्झौता भएको १० किलोमिटर दूरीको यो सडक ग्राभेल गर्ने काम इमोटल कन्ट्रक्सनले लिएको थियो । दुई पटकसम्म म्याद थप भएको यो आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सवइञ्जिनियर घनश्याम रोकाले बताए ।

निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न, निर्माण सामग्रीको व्यवस्थापन गर्न नसकेका कारण सडक र पुल निर्माणमा ढिलासुस्ती भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए ।

“तत्कालीन जिविसले ठेक्का लगाएको योजनासमेत निर्माण सकिएको छैन”, उनले भने, “अन्नपूर्ण संरक्षण क्षेत्रको झन्झटिलो र लामो वातावरणीय सर्वेक्षण गर्नुपर्ने प्रक्रिया, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण पनि विकास आयोजना कार्यान्वयनमा ढिलाइ भएको हो ।”

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले ढिलासुस्तीले थलिएका पुल र सडकको मङ्गलबार र बुधबार अनुगमन गरे । सडक र पुल निर्माणको अवस्था, समस्या पहिचान गरी निर्माणलाई पूर्णता दिनका लागि पहल गर्न निरीक्षण र प्राविधिकसँग छलफल गरेका थिए।

मन्त्री जुग्जालीले निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गर्न र रोकिएको काम अघि नबढाए धरौटी जफत, कालोसूचीमा राख्ने र कारबाही गर्ने प्रक्रिया अघि बढाउन पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठलाई निर्देशन दिए ।

“स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि प्रशासन र जनप्रतिनिधिसँग समन्वय गरेर सहजीकरण गर्नुहोस्”, उनले भने, “सहजीकरण गर्दा पनि निर्माण कार्यलाई तीव्रता नदिने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुहोस् ।” उनले प्रदेशका आयोजनाका लागि बजेटको अभाव नुहुने र हुन नदिनेसमेत बताए ।

निर्माण कम्पनी इमोटल कन्ट्रक्सनका प्रतिनिधि सुदीप खड्काले लोमान्थाङको सडक निर्माणमा ढिलासुस्ती हुनुमा कोरोना महामारी, चिसो र हिमपातले छ महिनाभन्दा बढी समय काम गर्न नसकिनु र भौगोलिक विकटता प्रमुख कारण रहेको बताए ।  ढिलै भए पनि १० किलोमिटर सडक ८ मिटरका दरले फराकिलो, नाली र पर्खाल बनाएर ग्राभेल गर्ने काम सकेको उनले बताए ।


Read Previous

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

Read Next

एमसिसीअन्तर्गत बन्ने ४०० केभी प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा   

Leave a Reply

Your email address will not be published.