Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

खरिद प्रक्रियालाई पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाइनुपर्छः मुख्य सचिव डा अर्याल


काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउन आवश्यक रहेको नेपाल सरकारका मुख्य सचिव डा बैकुण्ठ अर्यालले बताएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले आमनागरिकले तिरेको करबाट सार्वजनिक खरिद गरिने भएकाले करको दुरुपयोग र अवमूल्यन हुन नदिन सधैँ सजग र सचेत रहन जरुरी रहेको बताए ।

“सार्वजनिक खरिद प्रक्रियामा प्रविधिको प्रयोग बढेको छ, पूर्वाधार निर्माणमा सरोकारवाल निकायबाट समयमै सहजीकरण र समन्वय हुनुपर्छ, कतिपय अवस्थामा ऐन कानुनको परिपालनाका क्रममा देखिएका गाँठो फुकाइदिनुपर्छ ।” अर्यालले भने । विधि, प्रक्रिया र प्रणालीलाई स्वच्छ तुल्याएर प्रविधिको माध्यमबाट खरिद कार्यको अनुगमन गर्न सकिने प्रणाली विकास भइरहेको बताउँदै उनले सरोकारवालासँग प्रर्याप्त छलफल गरी ऐन, कानुनलाई साझा र समयसापेक्ष तुल्याएर लैजान आवश्यक रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा आव २०७९/८० मा भए गरेका गतिविधि, राय परामर्श, सार्वजनिक खरिदसम्बन्धी अनुगमनलगायत विषय समेटिएको वार्षिक प्रतिवेदनको लोकार्पण गरिनुका साथै मुख्य सचिवमार्फत सो प्रतिवेदन सरकार समक्ष पेश गरिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्पादन गरेका खरिद कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

यसअवधिमा एक सय ६२ वटा बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी, फर्म र कम्पनी, व्यक्ति र संस्थालाई सम्बन्धित निकायको सिफारिसको आधारमा कालो सूचीमा राखिएको छ । चालु आवमा विद्युतीय खरिद प्रणालीमा सार्वजनिक निकायको दर्ता सङ्ख्या चार सय २१, बोलपत्रदाता दर्ता सङ्ख्या छ हजार दुई सय ७४ र प्रकाशित बोलपत्र सङ्ख्या ३३ हजार चार सय २९ रहेको कार्यालयले बताएको छ ।

खरिद प्रक्रिया प्रणालीमा धेरै चुनौती रहेकाले सुधारका लागि गहन प्रयास आवश्यक रहेको कार्यक्रममा सार्वजनिक खरिद कार्यालयका सचिव डा दामोदर रेग्मीले बताए। उनले भने, “सार्वजनिक खरिद ऐनमा देखिएका अड्चन हटाउन पुनःलेखनमा लागिएको छ, यसमा सबैको सहयोग र सहभागिता आवश्यक छ, सार्वजनिक खरिद आर्थिक अनुशासन कायम गर्ने महत्त्वपूर्ण आयाम हो । प्रतिस्पर्धी क्षमतालाई बढाएर पूँजीगत खर्च बढाउनेतर्फ प्रयास केन्द्रित हुनपर्छ ।”

सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष मोहनकृष्ण सापकोटाले सार्वजनिक खरिद मितव्ययी र परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवी सिंहले सरकारको अनुगमन चुस्त हुने र नीति नियम समयसापेक्ष बनाइने हो भने पूर्वाधार निर्माणमा सहज हुने धारणा राखे ।

ऐन कानुन पूर्वाधार निर्माणमैत्री हुनुपर्छ, राजनीतिक दबाब र प्रभावबाट मुक्त गराइनुपर्ने उनले भने । कार्यालयका पूर्वसचिव बज्रकिशोर साह र सहसचिव उमेश ढुङ्गानाले मन्त्रिपरिषद्बाहेक सबै निकायको अनुगमन गर्ने कार्यदेश पाएकाले खरिद प्रक्रियामा सुशासन र पारदर्शी कायम गर्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका रहेको बताए ।


Read Previous

पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको ७० प्रतिशत निर्माण सम्पन्न

Read Next

चीनकाे केरुङ जाने ट्रक चालकलाई प्रवेश पास प्रदान गर्न पत्राचार

Leave a Reply

Your email address will not be published.