Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

राष्ट्रिय प्राथमिकताका आयोजना : वर्षेनि करोडौँ बजेट विनियोजन, प्रगति शुन्य


ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको नौ वर्ष बितिसक्यो। तर स्तरोन्नतिको काम भने हुनसकेको छैन। सडक स्तरोन्नतिका लागि सरकारले हरेक वर्ष करोडौँ रकम बजेट विनियोजन गरे पनि बागलुङ खण्डमा काम हुनसकेको छैन। सडकको धेरै स्थानमा साँघुरो हुँदा गाडी ओहोरदोहोर गर्न समस्या छ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकले पहाडी जिल्लालाई तराईसँग जोडेको छ। तर सडकको दुरावस्था हुँदा बागलुङका नागरिक यो सडकमा सहजरूपमा बाह्रै महिना यात्रा गर्न पाएका छैनन्। सडक निकै साँघुरो हुँदा यात्रा गर्न समस्या भएको निसीखोला गाउँपालिका–७ का तिलक खत्रीले बताए। उनले सडक निकै अप्ठ्यारो हुँदा वर्षौँ बित्दा पनि यातायातका साधान सहजरूपमा सञ्चालन हुन नसकेको बताउँछन्।

‘यो सडक खुलेको धेरै वर्ष भयो, अहिलेसम्म गाडीहरू सहजरूपमा चल्न पाएका छैनन्, कतै साँघुरो छ, कतै अप्ठ्यारो छ, यतिका वर्षसम्म काम नहुनु सरकारको कमजोरी हो कि, ठेकेदारको कमजोरी ?,’ खत्रीले भने, ‘यस्तो सडकमा कसरी यात्रा गर्नु ?, ज्यान जोखिममा राखेर कोही पनि यात्रा गर्न मान्दैनन्, साँघुरो सडकमा गाडी पनि कसरी गुडोस् र ?,’

हिउँदमा साना गाडी जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उहाँको भनाइ छ। खत्रीले साँघुरो सडक हुँदा बेला–बेलामा दुर्घटनासमेत हुने गरेको भन्दै यसतर्फ सरोकारवालाको ध्यान नपुगेको गुनासो पोखे। घर अगाडि सडक भए पनि आफूहरूलाई पैदलयात्रा गर्नुपर्ने र सामान बोकेरै ढुवानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनी भन्छन्, ‘सडक छ भनेर के गर्ने समस्या परेको बेला गाडी भल्दैन, कोही बिरामी परे पनि बोकेरै अस्पताल पुर्याउनुपर्ने अवस्था छ, बर्खा लाग्यो कि सडकमा हिलोमात्रै हुन्छ, गाडी देखिन्नन्, बाटो ल्याउँदा लाखौँको जग्गा दिर्यौँ, अहिले बाटो भएर पनि गाडी भल्दैनन्।’

ढोरपाटन नगरपालिका–९ का कुलबहादुर सुनारले सडकले सहज बनाए पनि हिउँदमा धुलो र बर्खामा हिलोले समस्या बनाएको बताए। सडक छेउमा रहेका घरहरू अहिले सबै धुलोले ढाकिएको उनी बताउँछन्। सुनारले वर्षौँ अगाडि सडकले गाउँ जोडिए पनि स्तरोन्नति नहुँदा यात्रा जोखिम हुने गरेको बताए।

‘गाउँमा सडक आउँदा निकै खुसी लागेको थियो, अहिलेसम्म कालोपत्र हुनसकेको छैन, अहिले पनि धेरै ठाउँमा सडक साँघुरो छ, ठूला गाडी चल्न सक्दैनन्, दुर्घटनाको जोखिम पनि निकै छ,’ सुनारले भने, ‘सडकले सहज त बनायो, तर बर्खाको बेला चल्दैन, बुर्तिबाङबाट गाउँसम्म आउन पनि धेरै समय लाग्छ।’

विसं २०७७ भदौ १७ राति आएको बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो। बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि गत वर्ष ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताको १३ महिना बित्दा २३ प्रतिशतमात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर शरद् आचार्यले जानकारी दिए ।

बुर्तिबाङबाट फल्लेघरसम्मको सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द÷ओम बुद्ध जेभीसँग ३० महिनामा सक्ने गरी २५ करोड रुपैयाँको सम्झौता भएको आचार्यले बताए। स्तरोन्नतिको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिइराखेको उनको भनाइ छ।

‘सडक चौडा गर्ने, नाली निर्माण गर्ने तथा ग्राभेलिङका लागि गत वर्ष निर्माण कम्पनीसँग सम्झौता भएको थियो, झण्डै आधा समयावधि सकिन थाल्यो तर काम २३ प्रतिशतमात्रै भएको छ, निर्माण कम्पनीले ढिलाइ गर्दा समस्या परेको छ,’ इञ्जीनियर आचार्यले भने, ‘अझै आधा अवधि बाँकी रहेको हुँदा हामीले काम गर्न ताकेता गरिरहेका छौँ ।’

उनले गङ्गरेबाट बुर्तिबाङसम्म पनि साना–साना ठेक्कापट्टा गरी काम भइरहेको बताए । यस खण्डमा कच्ची नाली निर्माण गर्ने, साना खोलामा हिमपाइप हाल्ने काम भइरहेको आचार्यको भनाइ छ। बाह्रै महिना सडक सञ्चालनका लागि यो खण्डमा काम भएको उनी बताउँछन्।

‘अहिले बुर्तिबाङ–ढोरपाटन खण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, गङ्गरेबाट बुर्तिबाङसम्मको सडकमा पनि काम नभएको होइन, केही बजेट छुट्याएर काम हुँदै छ,’ उनले भने, ‘राजकुट, देवीस्थानसम्मको सडकलाई केही फराकिलो बनाउने र बर्खामा पनि गाडी सञ्चालन हुने गरी सडक निर्माण भइरहेको छ।’

विसं २०७१ मा बागलुङ खण्डमा यस सडकको ट्र्याक खुलेको थियो । यो सडक बागलुङ जिल्लामा ६१ किलोमिटर सडक पर्छ भने सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर छ। अहिलेसम्म २२ किलोमिटर सडकमात्रै कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ। यस सडकलाई यस वर्ष ४० करोड रुपैयाँ विनियोजन भएको छ। रासस


Read Previous

भिजिबिलिटी कम हुँदा काठमाडौं विमानस्थलमा विमान अवतरण गर्न समस्या

Read Next

चीनले रेकर्ड बनाउँदै एक वर्षमा प्रसारण प्रणालीमा थप्यो ८७ हजार मेगावाट सौर्य विद्युत

Leave a Reply

Your email address will not be published.