Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

प्रधानमन्त्रीलाई हाइड्रोजनबाट चल्ने कार चढ्न सुझाव, तत्काल कानून मस्यौदा गर्ने प्रतिवद्धता


काठमाडौं । काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन विज्ञ टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई हाइड्रोजनबाट चल्ने कार चढ्न सुझाव दिएको छ ।

प्रधानमन्त्रीसँग आइतबार साँझ भएको भेटमा टोलीले यस क्षेत्रको हौसला वृद्धि गर्न हाइड्रोजनबाट चल्ने सवारी साधन प्रयोग गर्न सुझाव दिएको हो ।

काठमाडौं विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा. विराजसिंह थापाका अनुसार टोलीले राखेको प्रस्तावमा प्रधानमन्त्रीले हाइड्रोजनको प्रयोग र उपयोगबारे जानकारी नभएको भन्दै जिज्ञासु भएर धेरै वटा प्रश्न गरेका थिए । ‘पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सकिने उपाय र सन् २०४५ भित्र देशलाई कार्बन न्यूट्रल देश बनाउने प्रतिवद्धता अन्तराष्ट्रिय मञ्चमा गरिसकेको उल्लेख गर्नुभयो’ उनले भने ।

टोलीले भेटमा अहिले एउटा हाइड्रोजनबाट चल्ने कारको मूल्य ५५ हजार डलर पर्ने र त्यसले १ हजार ३६० किलोमिटर गुड्ने उल्लेख गरेको थियो । यो दुरी पार गर्नको लागि ५ किलोग्राम हाइड्रोजन प्रयोग गरे पुग्छ । साथै त्यसबाट कार्वनडाइअक्साइड पनि उत्सर्जन हुदैन । तर, विद्युतीय कार चलाउने हो भने १० ठाउँ चार्ज गर्नुपर्छ । यति मात्र होइन, ५ किलोग्राम हाइड्रोजनको मूल्य करिब २५ डलर पर्छ ।

प्राडा थापाले हाइड्रोजन कारको प्रयोगले ब्याट्रीबाट चल्ने कारलाइ विस्थापित नगर्ने बताए । ‘दुवै कार समानान्तर रुपमा अघि बढ्छन, ब्याट्री कार हलुका सवारी साधन र छोटो दूरीको लागि साथै हाइड्रोजन कार ठूला सवारी साधन र लामो दूरीका लागि उपयोगी हुनेछन’ उनले भने ।

यसबाहेक ब्याट्री र हाइड्रोजन दुवै प्रयोग भएका सवारी साधनले जैविक इन्धनको विरुद्धमा काम गर्नेछन् । ब्याट्री प्रयोग हुने सवारी साधनले पेट्रोल र हाइड्रोजन प्रयोग हुने सवारी साधनले डिजेललाई विस्थापित गर्न सहयोग पुग्नेछ ।

भेटमा प्रधानमन्त्री देउवाले नेपालमा हाइड्रोजनबाट मल कारखाना खोल्न सकिने सम्भावनाबारे जिज्ञासा राखेका थिए । प्रा.डा. विराजसिहं थापाले ग्रीन हाइड्रोजनमार्फत सरकारले मल कारखाना खोल्न सक्ने विषयमा जानकारी दिए ।

प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले संघीय र प्रदेश सरकारसँग ग्रीन हाइड्रजन, एमोनिया उत्पादन र मल काराखाना खोल्नको लागि भइरहेको प्रयासबारे जानकारी दिए । उनले यस काममा समन्वय गरिदिन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

ग्रीन हाइड्रोजनबारे तत्कालन कानूनी मस्यौदा: प्रधानमन्त्री

प्रधानमन्त्री शेर बहादुर देउवाले ग्रीन हाइड्रोजनलाई विकास र व्यवस्थिति गर्ने विषयलाई समेटेर तत्कालन कानूनी मस्यौदा गर्ने प्रतिवद्धता गरेका छन् । ‘आवश्यक संयन्त्र बनाएर ऐनको मस्यौदा गर्ने काम अघि बढ्छ भनेर भन्नुभयो’ प्रा.डा. थापाले भने ।

त्यसअघि टोलीले यस क्षेत्रमा अहिलेसम्म भएका अध्ययन र उपलब्धीबारे बताएका थिए । यस क्षेत्रको विकास गर्न आवश्यक नियम कानून मस्यौदा गरी कानूनी रुपमा दिन आग्रह गरे । ग्रीन हाइड्रोजनको उत्पादन र उपयोगलाई प्रवद्र्धन गर्ने गरी कानूनी व्यवस्था चाडै भएमा देशलाई दीर्घकालीन रुपमै फाइदा पुग्नेमा जोड दिए ।

एमोनिया निर्यातको सम्भावना

टोलीले नेपालको विद्युत र पानीको प्रयोग गरी हाइड्रोजन उत्पादन गर्ने र हाइड्रोजनबाट एमोनिया उत्पादन गरी विदेशमा निर्यात गर्न सकिने सम्भावनाबारे बताएका थिए । बैठकमा उपस्थित नेता प्रकाशमान सिंहले वातावरणीय प्रदुषण रोक्न पनि विज्ञको सुझावअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

भेटमा नेता प्रकाशमान सिंह, विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा. विराजसिंह थापा, प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामा र वातावरण इञ्जिनियर लक्ष्मण लामा सहभागी थिए ।


Read Previous

अन्तरदेशीय पूर्वाधार उपयोगमा चुक्यो नेपाल

Read Next

पश्चिम सेतीलाई ४५ दिन र एसआर-६ लाई ६ महिनाभित्र सर्भे अनुमतिपत्र दिने निर्णय

Leave a Reply

Your email address will not be published.