Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन र पीपीए खोल्न इप्पानको माग


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन सरकारसँग माग गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गरेर उसले विद्युत व्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर सरकारले निर्माण गरिरहेको ऐन, कानुन तथा लाइसेन्सको प्रक्रिया अत्यन्त सुस्त गतिमा अघि बढिरहेकोमा गुनासो गरेको छ । यो गतिमा अघि बढ्दा १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का पुग्ने इप्पानको भनाइ छ ।

विद्युत व्यापार निजी क्षेत्रको लागि खुला गर्ने कार्यलाई यथाशीघ्र अघि बढाइयोस भन्ने इप्पान जोडदार माग छ । साथै, विद्युत बजारको सुनिश्चितता हुंदै गएकोले निजी क्षेत्रको लगानीमा उत्पादन हुने विद्युतको खरिद बिक्री सम्झौता (पीपीए) पनि सुचारु हुने इप्पानले विश्वास व्यक्त गरेको छ ।

विद्युत व्यापारमा अहिले सरकारको मात्र सहभागिता रहेको छ । मुलुकमा वर्षेनी ठूलो परिमाणमा विद्युत उत्पादन हुन थालेकोमा विद्युत उत्पादन, प्रशारण र वितरण अब सरकारले मात्र गर्न संभव नभएको इप्पानको निष्कर्ष छ । यसका लागि सरकारले विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि मार्गप्रशस्त गरिदिनुपर्ने माग छ ।

विद्युत विक्री प्रक्रिया अघि बढाएकोमा स्वागत

नेपाल विद्युत प्राधिकरणले यो वर्षको वर्षा याममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएकोमा इप्पानले स्वागत गरेको छ । प्राधिकरणको यस कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको इप्पानको ठहर छ ।

यसबाट विद्युत व्यापारको क्षेत्रमा नयाँ अध्यायको सुरुआत हुने र आगामी दिनहरुमा यसले थप उचाई प्राप्त गरोस भन्ने ईप्पानले चाहाना व्यक्त गरेको छ । अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न शुरु गरेको प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नुलाई सुखद भनेको छ ।

यसले आगामी दिनहरुमा नेपालको जलविद्युतले छिमेकी मुलुकहरुमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वासको निर्माण गरेको छ । नेपालको विद्युत व्यापारको यो कदमले उर्जा क्षेत्रका निजी लगानीकर्तामा ठूलो आशा, विश्वास र हौसला बढाउनुको साथै यो क्षेत्रमा स्वदेशी र विदेशी लगानीकर्ताहरु थप आकर्षित गराउने निश्चित छ ।

विद्युत निर्यातको लागि प्राधिकरणले भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडी बढाएको छ । छनोट भएकामध्ये मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्नेछ ।

यसबाट प्राधिकरणले आगामी जुलाई १ देखि नोभेम्बर १५ (१७ असार देखि २९ कात्तिक) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ । सम्झौताअनुसार मानिकरणले एनभिभिएनभन्दा प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ ।

इप्पानले यो उपलब्धीलाई ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएको उपजका रुपमा लिएको छ । करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सार्थक सहभागिताका कारण हाल वर्षा याममा १ हजार मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको छ ।

यसरी बढ़ी हुने विद्युतमध्ये ३६४ मेगावाट विनिमय बजारमा तथा २०० मेगावाट मीडियम टर्म बजारमा बिक्री हुनेछ । तथापी बांकी ४३६ मेगावाटका लागि भने बजार खोज्नु पर्नेछ ।


Read Previous

प्राधिकरणको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुसमा सम्पन्न हुँदै

Read Next

काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई विद्युतीय चुलो निशुल्क वितरण गर्न आवेदन माग

Leave a Reply

Your email address will not be published.