Nepal Purbadhar

नवीकरणीय ऊर्जा प्रवर्द्धन र ऊर्जा बचतका लागि नयाँ कानुन, विधेयक संसद्मा


काठमाडौं। सरकारले नवीकरणीय ऊर्जाको विकास, विस्तार र ऊर्जा दक्षता प्रवर्द्धनका लागि नयाँ कानुन बनाउने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य नवीकरणीय ऊर्जाको पहिचान, प्रवर्द्धन, विकास र विस्तार गर्दै वातावरण संरक्षणमा योगदान पुर्‍याउनु हो। साथै, नागरिकको ऊर्जामा पहुँच बढाउने, ऊर्जाको समुचित उपयोग गर्ने तथा ऊर्जा बचत र संरक्षणमार्फत दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

नेपालको संविधानको धारा ५१ को खण्ड (छ) को उपखण्ड (३) ले नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सुपथ, सुलभ र भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्ने व्यवस्था गरेको छ। सरकारले यही संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न पनि विधेयक ल्याएको जनाएको छ।

ग्रामीण ऊर्जा नीति, २०६३ ले ग्रामीण क्षेत्रमा साना तथा लघु जलविद्युत् आयोजना, बायोग्यास, सुधारिएको चुलो, सुधारिएको पानीघट्ट र सौर्य ऊर्जा प्रणालीको विकास तथा केन्द्रीय विद्युत् ग्रिडको विस्तारलाई प्राथमिकता दिएको छ। त्यसैगरी, राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ ले ऊर्जा दक्षता बढाउन र ऊर्जा संरक्षण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने रणनीति लिएको थियो।

विधेयकमा नवीकरणीय ऊर्जा स्रोतको विकास र प्रयोगलाई प्रवर्द्धन गर्दै ऊर्जाको प्रभावकारी उपयोग तथा संरक्षणमा जोड दिइएको छ। सौर्य, जैविक, वायु तथा जलस्रोतजस्ता नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकतालाई पनि सरकारले महत्त्व दिएको छ।

मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थ, कोइला, डिजेल र मट्टितेलजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोगले कार्बनडाइअक्साइड, मिथेनलगायत हरितगृह ग्यास उत्सर्जन बढाएको छ। यसले विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको जोखिम बढाइरहेको अवस्थामा नवीकरणीय ऊर्जाको विकास र ऊर्जा दक्षता प्रवर्द्धन आवश्यक भएको मन्त्रालयको भनाइ छ।

सरकारले विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएपछि नवीकरणीय ऊर्जाको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ। यसबाट वातावरण संरक्षण, ऊर्जामा नागरिकको पहुँच वृद्धि तथा उपलब्ध ऊर्जाको प्रभावकारी उपयोगमार्फत दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने सरकारको विश्वास छ।


Read Previous

नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आजदेखि सुरू: एआई र रोजगारीमा केन्द्रित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar