
काठमाडौं। कालीगण्डकी नदीमा आएको बाढीबाट क्षतिग्रस्त राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ।
असोज ११ गते बाढीका कारण विद्युतगृह डुबानमा पर्नुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेपछि आयोजना बन्द भएको थियो। मर्मतसम्भारपछि आयोजनाको २० मेगावाट क्षमताको एउटा युनिट बिहीबारबाट सञ्चालनमा ल्याइएको हो।
बाढीले टेलरेस गेटमा क्षति पुर्याएपछि विद्युतगृहभित्र पानी पसेर डुबान भएको थियो। पानी हटाएर क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मत गरेपछि उत्पादन पुनः सुरु गरिएको रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध-सञ्चालक गणेश केसीले बताए।
राहुघाटमा २०-२० मेगावाट क्षमताका दुई ओटा युनिट छन्। अर्को युनिट पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

