Nepal Purbadhar

आन्तरिक विवादबीच कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन हुँदै


काठमाडौँ। आन्तरिक विवाद र विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। कांग्रेसले दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको छ।

जेन्जी आन्दोलनपछि कांग्रेसभित्र देखिएको विवादका बीच महाधिवेशनको मिति र नेतृत्वलाई लिएर पार्टीभित्र दुई धार देखिएका छन्। विशेष महाधिवेशनबाट गगनकुमार थापाले आफूलाई संस्थापन पक्षको नेतृत्वमा दाबी गर्दै आएका छन् भने आन्दोलनका क्रममा आक्रमणमा परेका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै महाधिवेशनको तयारी गरेको छ।

कांग्रेसको विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पार्टीको आन्तरिक विवाद कायमै रहेका बेला १५औँ महाधिवेशन हुन लागेको हो।

असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभर तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिको सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँका विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी भाग र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

यस्तै, पुरानो बसपार्क आसपास तथा भृकुटीमण्डपभित्र पनि प्रतिनिधिका सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको स्वाँरले जानकारी दिए।

महाधिवेशनको बन्दसत्र भोलि र पर्सि खुलामञ्चमै सञ्चालन हुने कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्।

ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई विभिन्न समूहमा विभाजन गरी छलफल गराउने तयारी कांग्रेसले गरेको छ।


Read Previous

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित, बागलुङको गलकोटमा ६३ घरमा क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar